काष्ठमण्डप : महारानी एलिजाबेथको भ्रमण र  काठमाण्डौको साँचो हस्तान्तरण परम्परा

 चैत २६, २०७८ शनिबार ११:५५:३० | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको सर्वप्राचीन वास्तु संरचना मानिने साथै देशको राजधानीकै नामाकरणसित जोडिएको “काष्ठमण्डप” अर्थात “मरुसतः” को पुनर्निर्माण सम्पन्न भएपछि त्यसको राजकीय प्रयोग सम्बन्धमा सांस्कृतिक बौद्धिक क्षेत्रमा चिन्तन हुन थालेको छ । 

नागरिकलाई सुविधा प्रदान गर्न मरुटोलमा बनाइएको “मरुसतः” भए पनि विगतमा भुइँतला मात्रै नियमित पूजाआजा, विभिन्न सांस्कृतिक गतिविधिहरुका साथै धार्मिक र सामाजिक गतिविधिका लागि खुला गरेर माथिल्ला तलाहरु नागरिकका लागि बन्द गरिँदै आएको थियो । त्यस बाहेक “काष्ठमण्डप” सामुन्ने राजकीयस्तरमा काठमाण्डाैकै संरक्षक मानिएका शक्तिको प्रतीक मानिने देवता “पचलि भैरव” बाट राष्ट्र प्रमुखहरुलाई शक्ति हस्तान्तरण गर्ने मानिएको “खड्ग सिद्धि” जस्ता महत्त्वपूर्ण सांस्कृतिक परम्परा पनि सम्पन्न गरिँदै आएको थियो ।

त्यसैगरी त्यहाँ भित्रै पनि विदेशी राष्ट्राध्यक्षहरुलाई काठमाण्डौ नगरको साँचो हस्तान्तरण गर्ने राजकीय समारोहको पनि सुरुवात गरिएको थियो । त्यसरी काठमाण्डौ नगरको साँचो हस्तान्तरणको परम्पराको सुरुवात आजभन्दा ३६ वर्षअघि २०४२ सालको फागुनको ६ गते संयुक्त अधिराज्य बेलायती महारानी एलिजाबेथ द्वितीयले नेपालमा दोस्रो पटकको राजकीय भ्रमणका क्रममा भएको हो । याे परम्परा मित्रराष्ट्र जर्मनीका तत्कालीन चान्सलरदेखि माल्दिभ्स र चेकोस्लाभियाका राष्ट्रपतिहरुका राजकीय भ्रमणसम्म पनि कायम रहेको रह्यो । 

राजकीय भ्रमणका क्रममा महारानी एलिजाबेथ दम्पतिलाई नेपालको पुरानो राजदरबार हनुमाढोका क्षेत्रको निरीक्षण साथै “काष्ठमण्डप” मा नगरको साँचो हस्तान्तरण कार्य सम्पन्न गर्न तत्कालीन राजा वीरेन्द्र, अधिराजकुमार ज्ञानेन्द्र साथै राजपरिवारका अन्य सदस्यहरुका साथै सरकार र स्थानीय निकायहरुले दुई वर्षअघि नै तयारी शुरु गरेको तत्कालीन विभिन्न निकायका प्रमुखहरुका स्मरणमा ताजै छ । 

त्यतिबेला काठमाण्डौ नगर पञ्चायतका प्रधान पञ्च कमल चित्रकार हुनुहुन्थ्यो । महारानी एलिजाबेथलाई “काष्ठमण्डप” मा काठमाण्डाै नगरको परम्परागत साँचोको प्रतीक हस्तान्तरण गर्ने जिम्मा उहाँलाई नै दिइएको थियो । महारानीको शाही भ्रमण भव्यताकासाथ सम्पन्न गर्नु पूर्व नगर प्रमुख चित्रकारलाई विदेशमा गरिने स्वागत सत्कार निरीक्षणका लागि मित्रराष्ट्र थाइल्यान्डकाे राजधानी बैङ्ककमा १४ दिनसम्म राजा वीरेन्द्रका साथ भ्रमण समेत गराइएको थियो । भ्रमणका क्रममा आफूले राजा वीरेन्द्रका साथ बैङ्ककका साथै पर्यटकीय सहर पटायामा पनि शयर गरेको चित्रकारलाई ३६ वर्षपछि पनि स्मरण ताजै छ । त्यतिबेलाको परिवेश स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “महारानी एलिजाबेथलाई नेवाः परम्परा अनुसार दुलहीलाई जस्तै काष्ठमण्डपमा भित्र्याएर नगरको साँचो हस्तान्तरण गर्ने योजना थियो, यो आइडिया राजा वीरेन्द्रकै थियो ।”

भ्रमण नजिकिँदै गर्दा “काष्ठमण्डप” लाई सजाउने जिम्मा तत्कालीन हनुमानढोका राजदरबार हेरचाह अड्डामा अधिकृतका रुपमा कार्यरत तेज रत्न ताम्राकारलाई दिइयो । उहाँले “काष्ठमण्डप” लाई झकिझकाउ पार्न कुनै कसर बाँकी राख्नु भएन । महारानी एलिजाबेथको स्वागतार्थ गद्दी बैठकदेखि नै पैदल मार्गमा ६ फिट चौडा रातो कार्पेट भारतको राजधानी नयाँ दिल्लीबाट मगाइयो । त्यसमै टेकेर विशिष्ट पाहुनाका दम्पतिले “काष्ठमण्डप” प्रवेश गर्नुभयो । 

महारानी एलिजाबेथको भ्रमणका क्रममा “काष्ठमण्डप” भित्र पनि ठूल्ठूला खम्बाहरुमा आधा भाग राता कपडाले बेरियो । आधा तला ढाकिने गरी सेतै देखिने गरी लावाको मालाले सजाइयो । त्यसका लागि ताम्राकारले लावाको माला उन्न सिपालु कीर्तिपुरका कालीगढ धिमे कान्छालाई जिम्मा दिनुभयो । लावाको माला सुन्दर र आकर्षक देखिने गरी बीच–बीचमा रङ्गीन कपासका फूल गाँस्न लगाइयो । त्यसका लागि पाँगाका कालीगढहरुले आफ्ना सीप र कौशल प्रदर्शन गरे । 

महारानी एलिजाबेथको भ्रमण तयारीका काम निरीक्षण गर्न आएका राजा र अधिराजकुमार पटक–पटक “काष्ठमण्डप” वरपर आफूले भेटेको स्मरण गर्दै ताम्राकारले दुई वर्ष लगाएर आफूले जिम्मेवारी पूरा गरेको स्मरण गर्नु हुन्छ । त्यस क्रममा “काष्ठमण्डप” का साथै वरिपरि “कविन्द्रपुर” लगायतका सम्पदामा पुस्तौँदेखि विभिन्न पसल व्यवसाय गरेर जीविकोपार्जन गर्दै बसेका केही परिवारलाई समेत हटाइएको ताम्राकार सम्झिनु हुन्छ । त्यहाँका व्यवसायीहरुलाई हटाउन त्यसबखत चुनौति सामना गर्नु परेको अनुभव उहाँले सँगाल्नु भएको छ । 

काठमाण्डाै नगरको परम्परागत साँचोको प्रतीक विदेशी राष्ट्राध्यक्षलाई हस्तान्तरण गर्ने योजना पहिलो पटक कार्यान्वयन हुँदै थियो । नगर पञ्चायतले बनाउन लगाएको स्वर्ण लेपन गरिएको साँचो राजा वीरेन्द्रले पहिले नगर प्रमुख चित्रकारलाई र त्यसपछि उहाँले महारानी एलिजाबेथलाई हस्तान्तरण गर्नुभयो । त्यसबखत महारानीले अचम्म मान्दै साँचो केही बेर हेरिरहनुभएको सम्झिँदै सो साँचो उहाँले आफ्नो साथमै लानुभएको र सम्भवतः बेलायती महारानीको सङ्ग्रहमा अहिले पनि हुनुपर्ने अनुमान ताम्राकारले गर्नुभएको छ । 

महारानी एलिजाबेथको राजकीय भ्रमणको अर्को दिन हनुमानढोका राजदरबार क्षेत्र र त्यहाँ सञ्चालित सङ्ग्रहालयमा भयो । त्यहाँ महारानीले त्रिभुवन सङ्ग्रहालयको निरीक्षण गर्नुभयो । त्यतिबेला विशिष्ट पाहुनाहरुलाई पुरातत्त्व विभागका प्रमुख रहनुभएका साफल्य अमात्यले स्वागत गर्नुभएको थियो । महारानी एलिजाबेथले नेपाली मौलिक काष्ठकलाबारे गहिरो रुचि देखाउनु भएको थियो । हनुमानढोकाभित्रको नासल चोकमा उभिएर दक्षिणतर्फको नौतले दरबार देखाउँदै सोध्नु भएको थियो, “यो कति अग्लो हो ?” जवाफमा आफूले “१ सय ८ फिट अग्लो” भएको बताउँदा महारानीले त्यस अङ्कको महत्त्वप्रति जिज्ञासा राख्नुभएको सम्झिँदै ताम्राकारले भन्नुभयो, “हाम्रो धर्ममा यो अङ्कको ठूलो महत्त्व छ ।” 

दुई शताब्दी भन्दा अघि कुटनीतिक सम्बन्ध स्थापना भएको नेपाल र बेलायतबीच ७० वर्षअघि राजगद्दीमा आसिन महारानी एलिजाबेथ द्वितीयले नेपालको दुईपटक राजकीय भ्रमण गर्नुभयो । सन् १९६१ को फेब्रुअरीमा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा पनि नेपालमा उहाँको भ्रमण भएको थियो । त्यतिबेला हनुमानढोका राजदरबारको भ्रमण गरिए पनि नगरको साँचो हस्तान्तरण जस्तो राजकीय समारोह भएको थिएन ।  

हालै पुनर्निर्माण सम्पन्न “काष्ठमण्डप” लाई भविष्यमा पनि त्यस्तै राजकीय समारोहका लागि उपयोग गरिनु पर्ने विचार बौद्धिक जगतमा व्यक्त गर्न थालिएको छ । निकट भविष्यमै पालिका साथै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन सम्पन्न भएपछि पुनर्निर्मित “काष्ठमण्डप” को राजकीय प्रयोगबारे पनि पुनर्विचार साथै कार्यान्वयन गरिनु पर्ने देखिएको छ ।

“काष्ठमण्डप” राज्यको सार्वजनिक “सतः” मात्रै नभएर अन्तर्राष्ट्रिय महत्त्वको समेत सम्पदा भएकाले त्यसको उपयोग पनि त्यही अनुरुप नै हुनुपर्नेतर्फ ध्यान जानुपर्ने र निकट भविष्यमा जनताले निर्वाचित गर्ने जिम्मेवार पदाधिकारीहरुले सानातिना विवादहरुबाट मुक्त भएर “काष्ठमण्डप” को गरिमा बढाउनतर्फ जोड दिँदै प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया