पोखरेलीको मन जित्दै 'शिरीषको फूल'

 चैत २७, २०७८ आइतबार २०:१८:४७ | रासस
unn.prixa.net

कास्की – पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक 'शिरीषको फूल' ले पोखरेली दर्शकको मन जितेको छ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि २७ गतेसम्म मञ्चन गरिएको नाटकले विशेषतः पोखरेली युवा विद्यार्थीलाई आकर्षित गरेको छ ।

साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति उपन्यास शिरीषको फूल (विसं २०२२) मा आधारित नाटक भएको र विभिन्न पाठ्यक्रममा समावेश भएकाले पनि यो विद्यार्थीका लागि विशेष रोजाइमा परेको हो । थिएटर मलका संस्थापक तथा कला निर्देशक एवम् नाटकका परिकल्पनाकार केदार श्रेष्ठले पोखरेली रङ्गप्रेमीको मायाका कारण उत्साह थपिएको उल्लेख गर्दै प्रतिकूल मौसमका बाबजुद दर्शकको साथ मिलेकोमा आफूहरू हर्षित बनेको बताउनुभयो ।

अञ्जान प्रदीपको निर्देशन रहेको नाटकमा काठमाण्डाै तथा पोखरेली कलाकारको जीवन्त अभिनय छ । नाटककी पात्र सकमबरीको भूमिकामा समृद्धि नेपाल, सुयोगवीरको भूमिकामा सञ्जय विश्वकर्मा, शिवराजको भूमिकामा हाङ ओ हाङ राई, मुजुराको रूपमा सविना गोपाली, सानु हेड हन्टरीकी छोरीको रूपमा अञ्जु रिजाल, भैँसी गोठाल्नीको रूपमा मनिषा केसी, आदिवासी युवतीको रूपमा एलिसा भोग, मटिनचीको भूमिकामा दिप्सन विश्वकर्मा र पारिजातको भूमिकामा अञ्जु दाहाल हुनुहुन्छ । 

नाटकले पोखरेलीको मन जित्न सफल भएकोमा आफूहरू उत्साहित बनेको निर्देशक प्रदीपले बताउनुभयो । पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा मञ्चन गरिएको नाटकले थिएटरमा रौनक थपिएको बताउनुभयो । आउँदा दिनमा देशका विभिन्न नाट्य समूह वा नाटकघरसँगको सहकार्यमा वार्षिकरूपमा निरन्तर नाटक पस्कने सोच बनाइएको उहाँको भनाइ छ । 

तस्बिर : सामाजिक सञ्जाल

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया