बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने

 कात्तिक ८, २०७९ मंगलबार १७:५५:५ | रासस
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले याे विषय जानकारी गराउनुभएको हो । सन् २०४० सम्म बङ्गलादेशले नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ ।

शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशमा रहेकाे नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता–जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका साथै असल छिमेकीको सम्बन्ध रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका सङ्ग्राममा गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताउनुभयो । उहाँले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै 'बीबीआइएन' मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्त्वमा जोड दिनुभएको थियो ।

बङ्गलादेशी प्रधानमन्त्रीले राजदूत भण्डारीलाई आफ्नो सरकारको पूर्ण सहयोग रहने र सहकार्यसमेत हुने भन्दै सफल कार्यकालको कामना गर्नुभयो । राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बङ्गलादेशमा रहेकाे नेपाली राजदूतावासले आज मङ्गलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया