पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
देशमा सङ्घीयताको अभ्यास जारी छ । त्यही क्रममा स्थानीय निर्वाचन सकेर हाल सङ्घीय र प्रादेशिक निर्वाचनको अभियानमा सारा राष्ट्र लागेको छ । भ्रष्टाचारले दुर्गन्धित नेताहरु पनि अनेक अत्तर छरेर भ्रमको खेती गर्दै जनताबाट अनुमोदित हुन लागिपरेका छन् ।
कुनै पनि व्यवस्थाले परिपक्वता प्राप्त नगरुन्जेल 'बेनिफिट अफ डाउट' पाउनु र केही अलमल हुनु स्वाभाविक हो । तर त्यसैको निहुँमा तर मार्ने वा धमिलो पानीमा माछा मार्ने प्रवृत्ति मौलाउँदै गएको देखिन्छ । विधि र विधानका पर्खालहरु नाघेर वा नीति, नियम र निष्ठाका सिमाहरु भत्काएरै भए पनि शक्तिआर्जनको अनि समृद्धि र सफलता प्राप्तिको अन्ध प्रतिस्पर्धाले भ्रष्टाचारको बीजारोपण र मलजल भएको छ ।
पद प्राप्त गर्न जुनसुकै हतकन्डा अपनाउने र आफ्नै चरित्रको समेत लिलामी गर्न समेत पछि नपर्ने निर्लज्ज पात्रहरुबाट देश र समाजले कहिलेसम्म आश गरिराख्ने ? ती पात्रहरुले देश र समाजलाई निरन्तर दिग्भ्रमित पारिरहने कुरामा कुनै शङ्का छ र ? व्यक्ति र संस्थाहरुलाई आफ्नो स्वार्थ अनुसार उपयोग गर्ने र व्यवस्थाका कमजोरी र पत्रहरूका अन्तरविरोधमा खेलेर आफ्नो दुनो सोझ्याउने निर्लज्ज प्रवृत्तिले हाम्रो समाजमा गलत संस्कारको बीजारोपण र पृष्टपोषण भइरहेको छ ।
आफ्ना कहिल्यै तृप्त नहुने पदलोलुपता र द्रव्यलालसाको मूल्य सम्पूर्ण राष्ट्र र जनताले चुकाउनु परेको यथार्थ आफ्नो सामु हुँदा समेत निर्लज्ज रुपमा श्रोत र शक्तिको प्राप्ति र दुरुपयोगमा लिप्त रहने पात्रहरुबाट राष्ट्रले युगसापेक्ष गति र उपलब्धि हासिल गर्न सक्दैन । एकातिर निर्वाचन यस्ता पात्रहरुलाई आफ्नो मतद्वारा दण्डित गर्ने उपयुक्त अवसर हो भने अर्कोतिर विगतमा मतदातामा त्यस्तो सुझबुझ नदेखिएकाले यी र यस्तै खालका प्रवृत्तिसँग शिक्षाको नाता खोज्नु मनासिब मात्र नभएर अपरिहार्य देखिएको छ ।
अहिलेको यो उच्च चेतनाको युगमा समेत भ्रष्टहरुले निर्मम रुपमा मातृभूमिको दोहन गरिरहेको पीडादायी वास्तविकताको निरीह साक्षी बन्ने अवस्था साँच्चै विडम्बनापूर्ण छ । उनै भ्रष्टहरुलाई नियमित रुपमा निर्वाचित र अनुमोदित गर्दै आफ्नो र आफ्ना सन्ततिको भाग्यको रेखाङ्कन गर्ने जिम्मा सुम्पनुपर्ने अवस्था दयनीय छ । यो दयनीय अवस्थाबीच भ्रष्टाचारको विषाक्त संस्कृति मौलाउँदै जाँदा देश अनियमितता, पछौटेपन र विकराल निराशाको चङ्गुलमा फसिरहने छ र यसको भविष्य अनिश्चित र दयनीय बनिरहनेछ । एकपछि अर्को पुस्ता यसको सिकार भइरहने छन् ।
तसर्थ विकासका लक्ष्यहरु हासिल गर्ने र जनताको जीवनमा तात्विक परिवर्तन ल्याएर समाज र देशको दिगो रुपान्तरण गर्ने योजनाहरु बनाउँदै गर्दा सदाचारको खडेरीले ती योजनाहरु तुहिन सक्नेतर्फ सजग रहनु आवश्यक छ । यसो भन्दै गर्दा यो केवल राष्ट्रियस्तरको वा राजनीतिक समस्या मात्र भने होइन । यसको अभावको परिणति व्यक्ति, परिवार र हरेक तह, प्रकृति र स्तरका निकायहरुले भोग्नु पर्दछ । अनि हाम्रा न्यायपालिका व्यवस्थापिका र कार्यपालिकाका लगभग सबै निकायहरुले यसबाट नराम्रोसँग सङ्क्रमित भइसकेको लक्षण देखाएका छन् ।
सदाचार मान्छेको अमूल्य निधि हो । यसले मान्छेको आन्तरिक सुन्दरता बढाउने र मन अनि मष्तिष्कलाई शुद्ध राख्ने कार्य गर्दछ । संस्कार र सदाचार विनाको शिक्षाले विद्धमान् सामाजिक आर्थिक संरचना भित्र पदप्राप्ति र अर्थआर्जन गर्न सक्ने यन्त्र मानवहरुको उत्पादन गर्न सक्ला तर मानवलाई वास्तविक अर्थमा मानव बनाउन सक्दैन। आखिर शिक्षाको अभिष्ट: के हो ? जुनसुकै क्षेत्रसँग सम्बन्धित भए पनि शिक्षाले मानवीय मूल्य र मान्यताहरुको संरक्षण गर्नुपर्छ कि पर्दैन? शिक्षाको वर्तमान् परिदृश्यलाई नियाल्दा भौतिक समृद्धिको बाटो देखाउने शिक्षानै सबैको रोजाइमा पर्ने गरेको यतार्थ हाम्रो सामु छर्लंङ्ग छ । हुनत वर्तमान् भौतिकतावादी युगमा धनको महत्त्व नजरअन्दाज गरिहाल्न मिल्दैन तर शिक्षालाई सिधै धन आर्जनसँगमात्र जोडेर हेर्ने प्रवृत्तिले भ्रष्ट संस्कृतिलाई जन्माउने र मलजल गर्ने काम गरेको छ । यसले शिक्षाको महत्त्वलाई सङ्कुचित र प्रदूषित गराएको छ । जनशक्ति जति नै दक्ष र पोख्त भए पनि उनीहरुमा सदाचार र नैतिकता जस्ता मानवीय गुण र मूल्यहरुको अभाव देखिएमा देश र जनताले उनीहरुबाट पाउनेभन्दा पनि गुमाउने सम्भावना बढी रहन्छ ।
हरेक क्षेत्रमा इमान्दारिता, नैतिकता, कर्तव्यनिष्ठता र सदाचार जस्ता कुराहरुलाई नजरअन्दाज गरेर शिक्षा र रोजगारीलाई फगत आयसँग मात्र जोडेर हेर्ने प्रवृत्ति बढ्दो छ, चाहे त्यो जस्तोसुकै उपायले किन नहोस् । यसले सद्गुणहरुको महत्त्वलाई छायाँमा पार्ने काम गरेको छ । मालपोतको निम्न तहको कर्मचारीको रवाफ एउटा विशिष्ट श्रेणीको प्राध्यापकको भन्दा बढी हुनु यसैको उपज हो । एउटा नेताको अघिपछि गर्ने सहयोगीको जीवनशैली एउटा दक्ष, नैतिकवान र कर्मठ कर्मचारीको भन्दा उच्च हुनु त्यसैको उपज हो । कमाउनु नै जीवनको अभिष्ट ठान्ने र त्यसको लागि जीवनका हरेक मूल्यको लिलामी गर्न तयार हुनु यही द्रव्यलालसा हो र त्यो नै भ्रष्टाचारको कारक तत्त्व हो । अहिलेको सूचना र सञ्चारको उच्च विकासको युगमा समेत विडम्बनापूर्णरुपमा कर्मचारीतन्त्र लालफित्तसाही प्रवृत्तिको अथवा प्रक्रियामुखी रहेको र यसको अंशियार र संरक्षक राजनीति रहेको कुरामा हरेक सचेत नेपाली जानकार छन् । 'बिलम्ब' र 'अनिश्चितता' हाम्रो नेपाली समयको पृथक पहिचान नै बनेको छ ।
जिम्मेवारी वा दायित्वमा मात्र नभएर व्यक्तिगत चरित्र र प्रवृत्तिमा समेत यिनको सङ्क्रमण व्याप्त देखिन्छ । थकानपूर्ण र झर्कोलाग्दो प्रक्रियामा पसेर थुप्रै सङ्ख्यामा कर्मचारीको अगाडि झुक्दै र हात जोड्दै अनि विभिन्न अवस्थाहरुमा टेबलमुनिको शुल्क पनि बुझाउँदै अघि बढेर प्रशासनिक कार्यहरु सम्पन्न गर्नुपर्ने अवस्था अझै पनि छ । अन्यथा जो कोही पनि नियतवश सृजना गरिएका प्रशासनिक जटिलताहरुमा फस्ने वा फसाइने सम्भावना रहन्छ । तर सदाचारको सङ्कटले कर्मचारीतन्त्र मात्र आक्रान्त भएको भने होइन । यसबाट हाम्रो राष्ट्रनै सङ्क्रमित भएको आभाष हुँदैछ । सुरक्षा क्षेत्र होस् या शिक्षा, स्वास्थ्य क्षेत्र होस् वा व्यापार, विकास निर्माण होस् वा श्रोत व्यवश्थापन सम्पूर्ण क्षेत्रमा यसको सङ्क्रमण व्याप्त छ । हरेक क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने र जीवनलाई अझ उन्नत, सबल र सार्थक बनाउने शिक्षा क्षेत्र समेत यसबाट ग्रस्त हुनु गम्भीर अवस्था हो । देशको समग्र दिशानिर्देश गर्ने राजनीति भ्रष्टचारले विषाक्त भइदिँदा देस पछौटेपनको विकराल खाडलमा फसेको छ । हाम्रो देशमा राजनीति नै भ्रष्टाचारको माध्यम र संरक्षक हुँदा यो सबै क्षेत्रमा मौलाएको हो ।
यी र यस्तै कटु सत्यहरुले सदाचार शिक्षाको अपरिहार्यता पुष्टि गर्दछन् । विश्वका विभिन्न राष्ट्रहरुले पनि सदाचार शिक्षाको प्रवर्द्धनको लागि प्रयास गरेको देखिन्छ । चीनको विद्यालय र विश्वविद्यालय शिक्षामा लागू भएको सदाचार शिक्षाका अभ्यासहरु साच्चै उत्कृष्ट र अनुकरणीय छन् । बङ्लादेशमा विद्यार्थीहरुलाई सदाचार सिकाउन राखिने क्यसियरविहीन इन्टिग्रिटी स्टोरहरु हुन् वा लिथुआनियामा विद्यार्थीहरुलाई व्यावहारिक रुपमा शिष्टाचारको बीजारोपणगर्न स्थानीय निकाय र गैह्र सरकारी संस्थाहरुका भ्रष्टाचार विरोधी अभियानमा सहभागी गराउने व्यवस्था होस् सबैले सदाचार सिकाउन र यसको प्रवर्द्धन गर्न योगदान दिएको पाइएको छ । हङ्गेरीमा सदाचार सम्बन्धी र भ्रष्टाचार विरोधी अवधारणाहरु एथिक्सको पाठ्यक्रममा समावेश गरिएको छ । त्यस्तै अष्ट्रियामा सङ्घीय ब्युराेले १४ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई भ्रष्ट्राचार विरुद्ध तालिम प्रदान गर्दछ ।
उच्च शिक्षातर्फ पनि विश्वका विभिन्न देशहरुमा सदाचार प्रवर्द्धनका थुप्रै अनुकरणीय प्रयासहरु भएका देखिन्छन् । हाम्रो देशमा पनि विभिन्न समयमा नैतिक शिक्षा, सामाजिक शिक्षा, नागरिक शिक्षा, संस्कृत शिक्षा लगायत विभिन्न विषय र पाठ्यक्रमहरु विकास गरी सदाचारको प्रवर्द्धन गर्ने प्रयास नभएका होइनन् । तर आम नागरिक र सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरुको व्यवहारमा प्रतिबिम्बित नहुँदा यो प्रयास अपूर्ण र परिणामविहीन जस्तै देखिँदैछ। अझ शिक्षामा दिगो नीति र सोचको अभावमा हाम्रो शिक्षा क्षेत्र केवल पाश्चात्य संस्कृति, चिन्तन र दर्शन आयात गर्ने माध्यम बन्न पुगेको छ । सदाचार, नैतिकता, मानवीयता, पूर्वीय दर्शन र हाम्रो संस्कृतिको प्रवर्द्धन गर्ने प्रयासको अभावमा शिक्षा सच्चा मानव र देशभक्त नागरिकभन्दा पनि धन कमाउने यन्त्र तयार गर्ने माध्यम बन्दै गएको प्रतित हुँदैछ । यसले सदाचार शिक्षाको अभाव र आवश्यकता अझ बढी बोध गराइरहेको छ ।
देश निर्वाचनमय बनेको छ । जानीजानी कुनै प्रलोभन वा भ्रममा परेर भ्रष्टाचारीलाई मत दिनु भनेको देशलाई थप अन्धकारमा धकेल्ने कामको सहयोगी बन्नु हो, आफ्नो नागरिक दायित्व नबुझ्नु हो र भ्रष्टहरुको भ्रमपूर्ण जालमा फसिरहनु हो । यसले एकातिर नागरिक शिक्षा, मतदाता शिक्षा र नैतिक शिक्षाको अभाव प्रतिबिम्बित गर्दछ भने अर्कोतिर नगारिक स्वाभिमान, सदाचार र शक्तिको क्षय प्रतिबिम्बित गर्दछ । निरन्तर उही पात्रहरुले देशको दोहन गरिरहँदा पनि ती पात्र परिवर्तन गर्न नसक्नु या त विकराल गरिबीले जन्माएको बाध्यता हो, कुनै प्रलोभनको उपज हो, निर्लज्ज निरीहता हो, भ्रष्टाचारको भागेदारी हो वा नागरिक आत्मसमर्पण हो । यसले नागरिक शिक्षा र सदाचार शिक्षाको अपरिहार्यता प्रतिबिम्बित गर्दछ ।
तसर्थ भ्रष्ट र अकर्मण्य प्रवृत्ति र पात्रहरुलाई सार्वभौम मतदाताहरुले ठेगान लगाउने उपयुक्त अवसर निर्वाचन हो र यसमा मतदाता चुकेको खण्डमा परिणाम सारा जनताले वर्षाैँवर्ष भोग्नुपर्नेछ । अर्कोतर्फ सदाचार शिक्षाका उपयुक्त र समसामयिक पाठ्यक्रमहरु तयार गरी शिक्षाका हरेक तहमा प्रभावकारी रुपमा लागू गर्नु आवश्यक छ । होइन भने भ्रष्ट संस्कृतिको दीर्घसङ्क्रमणले हाम्रो देश सधैँभरी ग्रसित भइरहनेछ र समृद्धि र विकास दिवास्वप्न बनिरहने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सन्तोष गौतम ब्रेन गेन सेन्टर नेपालका प्रथम संयोजक हुनुहुन्छ ।