नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
म्याग्दी - म्याग्दीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेड्न सबस्टेशन र प्रसारण लाइन निर्माणकाे काम सुरु भएकाे छ । राहुघाट नदीमा निर्माणाधीन तथा जिल्लामा निर्माणको क्रममा रहेका अन्य आयाेजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा जाेड्न सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो।
सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवर्द्धक सक्रिय भएका छन् । विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले दुवै ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सबस्टेशनका उपकरण राख्ने ठाउँ बनाउन सुरु भएको र प्रसारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको जानकारी दिनुभयो ।
सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा सबस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माणलाई तीव्रता दिएको जनाएको छ ।
२५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन् । टावर निर्माण हुने जग्गाको पहिचान र जाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम भइरहेको छ ।
रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १० मङ्गला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेशनमा १३३/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गरिने भएको छ ।
२२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जीआईएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताउनुभयो । एसियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । डाँडाखेतमा सबस्टेशन बनाउन पाँच वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ ।
दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२ दशमलव ८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।
संसारको साताैँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । राहुघाटमा ३५ दशमलव ५ मेगावाटको राहुघाट मङ्गले र ४८ दशमलव ५ मेगावाट क्षमताको अपर राहुघाट, २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । ५ दशमलव ५ मेगावाट क्षमताको बगरखोला, ४ दशमलव ७५ मेगावाटको स्यानोखोला, ४ दशमलव ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।