एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

 फागुन ३, २०७९ बुधबार ११:५१:२१ | रासस
unn.prixa.net

काठमाण्डाै – चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् । 

यीमध्ये दुई चलचित्र जारी र बिहे पासमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा हुनुहुन्छ । दुवै चलचित्र विवाहमा केन्द्रित छन् । एकै दिन आफ्ना दुई चलचित्र प्रदर्शनमा आउँदा अभिनेता राई भने खुसी हुनुहुन्न । उहाँले भन्नुभयो, “मैले पनि निर्माताले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ, किन एउटै मिति रोज्नुभयो थाहा छैन । एकै दिन पाँच–छमध्ये आफ्नै दुई चलचित्र हुँदा अस्वभाविक लागिरहेको छ, यसबारे छलफल हुन्छ ।”

चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बजारले धान्नै नसक्ने गरी एउटै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउनु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा छलफल गरेर केही प्रयास भने गर्ने छौँ ।” यसको समाधानका लागि निर्मातालाई समझदारी र सहमतिमा अगाडि बढ्न अनुरोध गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । 

वितरक सुनिल मानन्धरले नयाँ वर्ष नेपाली चलचित्रका लागि शुभ भए पनि भीडभाडले समस्या निम्त्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार गर्ने चलचित्र छन् । उदाहरणका रूपमा कबड्डी–३ र ४ लाई लिन सकिन्छ ।”  

एउटै मितिका लागि प्रदर्शन घोषणा भए पनि प्रदर्शन मितिसम्म पुग्दा केहीले भने मिति सार्ने गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया