राउटेलाई पनि आयो दसैं

 असोज २९, २०७५ सोमबार ८:२५:१४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा छाप्रा (घर) बनाउन भ्याइ नभ्याई छ । महिला पुरुष दुवै छाप्रा बनाउनमा व्यस्त छन् । केटाकेटीहरु घर पोत्नमा ब्यस्त देखिन्छन् । कोही दसैंका लागि भनेर कुभिन्डो, काँक्रा काटेर सुकाउँदै छन् । 

एक साता अघि मात्र दैलेखको गुराँस गाउँपालिकाबाट बसाई सरेर सुर्खेतको लेकवेशी नगरपालिका ९ साटाखानीको गंगटेमा आएका राउटेहरुलाई पनि दसैंले छोएको छ । राउटे समुदायका धनिराम शाहीलाई पनि घर (छाप्रा) बनाउन भ्याइनभ्याई छ । ‘दसैं आउन थालिसक्यो । घर बनाउँदैछौँ । काममा धेरै ब्यस्त छौँ’ धनिराम शाहीले भन्नुभयो, ‘भर्खर मात्र बस्ती सरेर आएको काम धेरै छ ।’

कर्णाली प्रदेशका विभिन्न ठाउँहरुमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय दसैं मनाउने तयारीमा छन् । ‘तिमीले जसरी दसैं मनाउछौँ हामी पनि त्यसै गरी दसैं मनाउँछौँ । टिका जमरा लगाउँछाैँ ‘उहाँले भन्नुभयो, ‘बली दिन्छौँ । सबैको घरमा बाख्राको व्यवस्थापन गरेका छौँ ।’

सबैको घरमा दसैंका लागि भनेर एक/एक वटा बाख्रा छन् । प्रत्येकका घरमा जाडरक्सी पनि आफैँले बनाएर राखेका छन् । सरकारले दसैं नजिकै सामाजिक सुरक्षा भत्तावापत प्रतिव्यक्ति दुई हजार वितरण गरेको छ । गुराँस गाउँपालिकाले दुईचार दिन अघि गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 

सामाजिक सुरक्षा भत्ता पाएपछि दसैंका लागि आवश्यक समाग्री जुटाउने तयारीमा राउटेहरु जुटेका छन् । अब यसै पैसाले चामल, चिनी, तेल किनेर ल्याउने बताउनुहुन्छ राउटे प्रकाश शाही । ‘अब यो पैसाले चामल किन्छौँ । तरकारी, तेल किन्छाँै’ उहाँले भन्नुभयो, ‘हामीले पनि दसैंको समयमा रमाइलो गर्छौँ ।’ विभिन्न संस्थाहरुले राउटेहरुलाई बाख्रा दिएका छन् । 

राउटे समुदायले बंगुर, सुंगुर भने खादैनन् । पहिले जंगलमा गुना बाँदर सिकार गर्दै आएका राउटे समुदायहरु अहिले सरकारले परिचय पत्र दिएकाले शिकार नमरेको बताउँछन् । ‘हामीले अरु जातिले जस्तो बंगुर, सँगुर काट्दैनौँ । ‘दसैंमा बाख्रा काट्छौँ । मेरो घरमा एउटा बाख्रा छ । मैनबहादुर शाहीले भन्नुभयो, ‘बली नकाटे त कसरी दसैं भयो त ।’

दसैं खर्चका लागि राउटे मुखिया हरिबहादुर शाहीको नेतेत्वमा गएको टोली काठमाडौं पुगेर फर्किसकेको छ ।  ‘तेल चिनी चामल किनेर ल्याउँछौँ’ राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, ‘यसरी रमाइलो नगरी कसरी दसैं मनाउँने । दसैं रमाइलो बनाउन पैसा चाहिने रहेछ ।’

काठको काम गरेर जीवन निर्वाह गर्दै आइरहेका राउटेहरु पछिल्लो समय वनमा काठ पाउन छाडेपछि जीवन धान्नका लागि अरुकै भरमा छन् । अहिले गंगटेमा ४२ घर छन् । त्यहाँ  एक सय ४८ जना राउटे बस्दै आइरहेका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया