वडाध्यक्षसहित ५ जना जेल चलान

 कात्तिक १०, २०७५ शनिबार ११:१८:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – कुटपिटपछि शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

पुथाउत्तरगंगा गाउँपालिका–२ को पेल्मा आधारभूत विद्यालयका शिक्षक ५१ वर्षीय मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा वडाअध्यक्ष सतसिङ बुढासहित ५ जनालाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न निर्देशन दिएको हो । विद्यालयका निमित्त प्रधानाध्यापक समेत रहनुभएका शिक्षक केसी सिस्ने गाउँपालिका–६ का हुनुहुन्छ । शिक्षक केसी त्यस विद्यालयमा २३ वर्षदेखि अध्यापनरत हुनुहुन्थ्यो । 

कुटपिटपछि बेपत्ता भएका शिक्षक केसी

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले वडाअध्यक्ष बुढासहित त्यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, त्यसै ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१०का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुुसार, शुक्रबार बेलुकी ८ बजेसम्म भएको बयान र बहसपछि त्यो आदेश भएको हो । अदालतले शुक्रबार निरन्तरको सुनुवाइपछि शुक्रबार नै फैसला गरेको थियो । उनीहरुलाई शुक्रबार राति नै रुकुम पश्चिमको कारागार पठाइएको छ ।

स्थानीय नागरिकले भदौ १४ देखि शिक्षक सम्पर्कमा नरहेको बताएका छन् । भदौ १७ गते मात्रै परिवारले शिक्षक हराएको खबर पाएका थिए ।  खबर पाएलगत्तै उनका दाजु मोहन केसीसहित आफन्तको २ वटा टोली खोजीका लागि २ पटक पेल्मा पुगे पनि केही पत्ता लगाउन सकेका थिएनन् । भाइ बेपत्ता भएको लामो समयसम्म केही पत्ता नलागेपछि मात्रै अदालतमा किटानी जाहेरी दिएको मखनका दाइ मोहनकुमारले बताउनुभयो । उहाँले स्थानीय सरकारको मिलोमतोमा घटना छिपाइएको आरोप लगाउनुभयो । 

शिक्षक केसी भदौ दोस्रो हप्तादेखि परिवार तथा आफन्त कसैको सम्पर्कमा नरहेको बताइएको छ । गएको साउन ३१ गते पुथाउत्तरगंगा गाउँपालिका–१०का विकास बुढा, धर्मसुर बुढा र पेल्माकै रामराज झाँक्रीलगायतले शिक्षक केसीमाथि कुटपिट गरेका थिए । साउन ३१ गते कुटपिटपछि भाद्र १ गते स्थानीय मेडिकलमा उपचार गराएका केसी त्यसको केही दिनपछि बेपत्ता भएको बताइएएको छ । 
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया