झुलाघाट नाका आंशिकरूपमा सञ्चालन

 असोज २७, २०८० शनिबार २०:७:५९ | रासस
unn.prixa.net

फाइल तस्बिर

बैतडी – भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

पुल मर्मतका लागि ४५ दिनको ठेक्का दिइएकाले अझै केही दिन आंशिकरूपमै आवतजावत हुने उहाँले बताउनुभयो । प्रजिअ पन्थीका अनुसार पुल मर्मत भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि अपराह्न ४ बजेर १५ मिनेटसम्म आवागमन बन्द हुने गरेको छ ।

झुलाघाट पुलमा आंशिकरुपमा मात्रै आवतजावत भइरहेकाले दसैँका लागि यो नाका भएर घर फर्कनेलाई केही समस्या भएको प्रजिअ पन्थीले बताउनुभयो । तोकिएको समयमा मात्रै आवतजावत गर्न पाइने उहाँको भनाइ थियो । ‘भारतीय पक्षले उक्त पुल मर्मत काम गरिरहेको हो । पुलमा काठका नयाँ फल्याक राख्ने, खिया लागेको फलाम बदल्नेलगायत काम भइरहेका छन्,’ उहाँले भन्नुभयो ।

झोलुङ्गे पुल मर्मतका विषयमा सीमा समन्वय बैठकमा सहमति भएको र त्यसैअनुसार पुल मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सीमा नाका झुलाघाटमा करिब एक सय ५० वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको त्यस पुलबाट आवतजावत गर्ने गरिएको छ । यो पुल जीर्ण भएकाले बेलाबेलामा मर्मतसम्भार गर्ने गरिएको हो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया