नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आज बुधवार मुस्ताङको जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रममा उहाँले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको उल्लेख गर्नुभयो ।
‘जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय जगतले पर्याप्त लगानी र पहल नलिने हो भने विश्वले गम्भीर मानवीय र प्राकृतिक विपद्को सामना गर्नुपर्ने स्थिति आउँछ ।’
प्रधानमन्त्री ले संयुक्त राष्ट्रसङ्घको भर्खरै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनले नेपालमा पुर्याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको बताउनुभयो । ‘नेपालले झेलिरहेको जलवायु परिवर्तनको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ’, उहाँले भन्नुभयो, ‘आउँदो महिना हुने २८ औँ विश्व जलवायु सम्मेलनमा पनि म आफैँ नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।’
प्रधानमन्त्री प्रचण्डले नेपालमा जलवायु परिवर्तनबाट पुगेको असर र जोखिमबारे बुझ्न छिट्टै संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण हुन लागेको जानकारी पनि दिनुभयो । उहाँले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने ५० करोड रुपैयाँ मुस्ताङमा खर्च गरिने जानकारी पनि दिनुभयो ।
‘गएको साउन २८ गतेको बाढीबाट क्षतिग्रस्त बनेको कागबेनी क्षेत्रको पुनःनिर्माणमा पनि विदेशी सहयोग जुटाउन सरकारका तर्फबाट आवश्यक पहल भइरहेको छ’, उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनबाट मुस्ताङको जनजीवन, कृषि, उत्पादन, पर्यटन र समग्र व्यवसायमा पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्नेमा नेपाल सरकार गम्भीर रूपमा लागेको छ ।’
प्रधानमन्त्री प्रचण्डले भौगोलिक विशिष्टता, प्राकृतिक सम्पदा, खनिज, धार्मिक, सांस्कृतिक आदि दृष्टिबाट मुस्ताङ विश्वकै परिचित स्थल रहेको धारणा राख्नुभयो ।
आज मुस्ताङ आउनुभएका उहाँले आजै बाढीबाट क्षति पुगेको कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङलगायत क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।