१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
धनकुटा – विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस अहिले छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् ।
धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जोड्ने उद्देश्यले धनकुटा नगरपालिकाबाट छथरजोरपाटीसम्म निर्माणाधीन २३ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा छ । स्थानीय मार्से गाउँका शङ्कर ओझाले भन्नुभयो, ‘यस सडकले गाउँपालिका–५ साविक तेलिया गाविसलाई सबैभन्दा धेरै गुन लागेको छ । यो सडक हाम्रो गाउँका लागि कोशेढुङ्गा सावित भएको छ । सडक नहुँदा हाम्रो ठाउँ जिल्लाको कर्णाली भनेर चिनिन्थ्यो ।’ पहिला कच्ची सडक हुँदा गाडीलाई आवतजावत गर्न समस्या थियो । त्यो समयमा यहाँका नागरिकले भौगालिक कष्ट र पानीको अभाव झेल्न नसकेर बसाइँ सर्न बाध्य थिए ।
कालोपत्र सडक बनेपछि यहाँबाट बसाइँसराइ गरेर जाने क्रम राेकिएकाे र सब्जी तथा पशुपालन फार्म खोलेर मानिसहरू उद्यमतिर लाग्न थालेका बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिला सितैमा लैजाउ भनेर समेत कसैले नलाने यस क्षेत्रको फलफूलसमेत सडक सुविधाका कारण अहिले किसानले राम्रो मूल्यमा बेचिरहेका छन् ।’
छथरजोरपाटी–३ सिंभुवा गाउँका रामबहादुर पाँचकोटीले गाउँ र सदरमुकाम जोड्ने कच्ची सडकसमेत नभएको अवस्थामा एक्कासी कालोपत्र सडक आउँदा आफूहरूको भारी बोकेर उकाली–ओराली गर्नुपर्ने कष्टपूर्ण दिन सकिएको बताउनुभयो । साविक ताँखुवा गाविसको यस वडाबाट धनकुटा बजार पुग्न ३५ किलोमिटरभन्दा बढी घुमेर कच्ची सडक पार गरेर जानुपर्दथ्यो अथवा त्यसको विकल्पमा झन्डै १५ देखि १८ किमी हिँडेर सदरमुकामसम्म कृषि उपज बेच्न जानुपर्ने र चाहिने मालसामान बोकेर ल्याउनुपर्ने हुन्थ्यो ।
तर अहिले ती सबै समस्याबाट मुक्ति पाएको स्थानीयको भनाइ छ । ‘पहिलाजस्तो भारी बोकेर उकालो हिँड्ने दुःखका दिन सकिएको छ’, सिंभुवा गाउँका पाँचकाेटीले भन्नुभयो । गाउँमै कालोपत्र सडक आएपछि कुनै बेला पाँच हजार रोपनीमा बिक्ने जमिनसमेत अहिले बढेर छ लाख रुपैयाँभन्दा माथि पुगेको र तराईतिर बसाइँसराइ गएका समेत फर्केर आउन थालेका उहाँले बताउनुभयो ।
साविक परेवादिन गाविस अहिले छथरजोरपाटी गाउँपालिका–५ का वडाध्यक्ष डिकबहादुर लिम्बूले कालोपत्र सकडका कारण गाउँमा कृषि उत्पादनमा वृद्धि भइरहेको जानकारी दिनुभयो । पहिला गाउँपालिकासम्म जान कच्ची सडकमात्र भए पनि अचानक कालोपत्र सडक गाउँमा आउँदा नागरिक अत्यन्तै उत्साहित भएका उहाँले बताउनुभयो ।
सडकको सुगमतासँगै यहाँ उत्पादित तरकारी, अलैँची तथा फलफूल सहजरूपमा बजार जाने वातावरण बनेपछि गाउँमा उत्साहित भएर किसान कृषि पेसामा लागेकाले उत्पादनमा वृद्धि भएको वडाध्यक्ष लिम्बूको भनाइ थियो ।
सडक बनाउन पहल गर्न भूमिका खेल्नुभएका धनकुटा प्रदेशसभा (१) का प्रदेशसभा सदस्य निरन राईले गाउँपालिका क्षेत्रको भौगालिक कठिनाइ समाधान गर्न र बजारबाट बाहिर जाने ठूलो वैकल्पिक बाटोका रूपमा यस सडक आयोजना शुरु गरिएको जानकारी दिनुभयो ।
अहिले धनकुटा बजारबाट अन्यत्र जाने कुनै ठूला सडक छैनन् । धरानबाट धनकुटा हुँदै भोजुर, सङ्खुवासभा र तेह्रथुम जाने सडकसमेत बजार बाहिरबाट गएको छ । यसका कारण अहिले धनकुटा बजारका केही बजार क्षेत्रमा व्यापारिक चहलपहल ठप्प छ । तेह्रथुम जोड्ने यस सडक पूर्णरूपमा निर्माण भएपछि यी बजारले पुनर्जीवन पाउने प्रदेशसभा सदस्य राईकाे जिकिर छ । यस सडकलाई निकट भविष्यमा धनकुटा बजारको पूर्वी क्षेत्रलाई तेह्रथुमको दक्षिण–पूर्व शुक्रबारे बजार हुँदै जिल्लाको सदरमुकाम म्याङलुङ बजारसम्म जोड्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
विसं २०७६ देखि २०८० पुस मसान्तसम्ममा काम सक्ने गरी पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाको अनुगमनमा निर्माण कम्पनी शर्मा भीमेश्वर जेभी भक्तपुरले सडकको ठेक्का पाएको थियो । कोशी प्रदेश सरकारको ५६ करोड ५२ लाख रुपैयाँ लागतमा निर्मित धनकुटा–बिहीबारे–हटिया–कर्मिटार–ताँखुवा–बन्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडक निर्माणको ९५ प्रतिशत काम सकिएको जेभीका प्रतिनिधि अपलेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।