पाथीभरा मन्दिरमा २ महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन

 पुष १३, २०८० शुक्रबार १४:५०:१६ | रासस
unn.prixa.net

पाथीभरा मन्दिरमा सङ्कलित भेटी रकम मिलाउँदै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी । तस्बिर : सन्तोष पुर्कुटी/रासस

ताप्लेजुङ – प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी ६८ लाख ११ हजार एक सय १० रुपैयाँ रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

दुई महिनाको समेत गरी अहिले बैंकमा आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ रुपैयाँ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

पछिल्लो १५ महिनामा रिफाइन नगरिएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो । यही अवधिमा ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । विसं २०७७ भदौ १८ गतेदेखि २०७९ साल भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल थियो । यस्तै छ हजार पाँच सुय ३५ किलो सात सय ७५ ग्राम तामा र १६ हजार तीन सय ६८ किलो एक सय ग्राम घण्टीसमेत तौल गरेर भण्डारण गरिएको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भए पनि पाथीभरामा सङ्कलन भएको भेटीघाटी २०७६ सालदेखि पाथीभरा क्षेत्र विकास समितिले हेर्दै आएको समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । 

तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटीघाटी व्यवस्थापन समिति गठन गरेर भेटीघाटी व्यवस्थापन हुँदै आएको थियो । पुनः त्यो समिति विघठन गरी पाथीभरा क्षेत्र विकास समितिले नै अहले व्यवस्थापन गर्दै आएको छ । विसं २०७६ अघिसम्मको भेटीघाटी भने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले गर्दै आएको थियो ।

पाथीभरामा मङ्सिरपछि सङ्कलित भेटीघाटी गणनाका लागि थप कर्मचारी व्यवस्थापन गरेर खटाइएको हाङबाङले बताउनुभयो । पाथीभरा क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजान केही जनशक्ति थपेर काम भइरहेको उहाँको भनाइ छ । 

पाथीभरा क्षेत्रको सरसफाइ, भेटीघाटीलाई समयमै व्यवस्थापन गर्न र पाथीभराको प्रचारप्रसारसहितका सम्पूर्ण गतिविधिलाई आममानिसमा पुर्‍याउन थप कर्मचारी व्यवस्थापन गरेर अघि बढेको उहाँले बताउनुभयो । पाथीभरामा सङ्कलित भेटीघाटीलाई हरेक महिनामा सार्वजनिक गर्ने गरी आवश्यक तयारी भएको कार्यकारी निर्देशक हाङबाङको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया