धेरै पालिकाहरुको वेबसाइटमा समस्या, खुलाउने प्रयास भइरहेको स...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं– मलेसियाले मध्यस्थकर्ता नरहने गरी विदेशी कामदार भर्ती गर्ने तयारी गरेको छ । विदेशी कामदार भर्तीमा मध्यस्थकर्ताले धेरै पैसा लिने र शोषण गर्ने गरेको भन्दै मलेसियाले यस्तो तयारी गरेको हो ।
मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरनले मध्यस्थकर्ताबाट कामदार भर्ती गर्दा धेरै रकम खर्च भएको र कामदारलाई पनि आर्थिक भार परेको भन्दै त्यस्ता मध्यस्थकर्ताबिना नै कामदार भर्ती गर्ने बताउनुभएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।
मलेसिया जाने कामदारबाट भिसा प्रक्रिया र स्वस्थ्य परीक्षणका नाममा आर्थिक शोषण भएको भन्दै नेपालले कामदार पठाउन रोकेपछि मलेसियाले गएको कात्तिक १२ गते नेपालसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।
जसमा नेपालबाट जाने कामदारको लागत सबै रोजगारदाताले नै व्यहोर्ने व्यवस्था छ । तर पनि मलेसियाको रोजगारीको ढोका भने अझै खुलेको छैन ।
नेपालसँग जस्तै बंगलादेश, इन्डोनेसिया र भियतनामसँग पनि श्रम समझदारी गर्ने मलेसियाको तयारी छ ।
मलेसियामा उद्योगदेखि निर्माण र कृषिको काममा विदेशी कामदारहरुको संख्या धेरै छ । यी कामको लागि मलेसिया जान मध्यस्थकर्तालाई धेरै रकम दिन कामदार बाध्य छन् ।
जसका कारण कामदरले वषौंको कमाई पनि ऋण तिर्नमा खर्च भएको भन्दै यो प्रवृतिलाई आधुनिक समयको ऋण बन्धनको संज्ञा दिँदै मलेसियाले मध्यस्थकर्ता हटाउने तयारी थालेको बताएको छ ।
नेपाल, बंग्लादेश र इण्डोनेसियाका झण्डै २० लाख नागरिक मलेसियामा वैधानिक रुपमा काम गरिरहेका छन् । मलेसियामा सबैभन्दा धेरै कामदार पठाउने यी तीन देश हुन् । श्रम स्वीकृति बिनै पनि काम गर्ने विदेशी कामदारको संख्या धेरै छ ।