नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
दृश्य १ : कतारका चिल्ला सडक । सफा र चिटिक्क सार्वजनिक बस र त्यही बसमा ड्राइभिङको काम ।
दृश्य २ : धुलोधुवाँमा हराएको काठमाण्डौको सडक । सडक छेउमा रहेको गाडी धुने ठाउँ र दिनभरी काममा व्यस्त त्यही पसलका सञ्चालक ।
ठाउँ, काम र समय फरक । तर पात्र उही ।
पाल्पा रैनादेवी छहरा गाउँपालिकाका ४२ वर्षीय दीपेन्द्र मरासिनी १० वर्ष कतारमा पसिना बगाएपछि नेपाल फर्किनुभयो । दुई वर्ष भयो, उहाँले गाडी धुने व्यवसाय सुरु गर्नुभएको ।
काठमाण्डौ मैतीदेवीको रातोपुल नजिकै छ दिपेन्द्रको ‘बाबा कार वास सर्भिस सेन्टर’ । हँसिलो अनुहार र मिजासिलो स्वभावका दीपेन्द्र दिनभरी कार वास सेन्टरमै व्यस्त रहनुहुन्छ । वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै व्यवसाय सुरु गरेदेखि जीवन थप रमाइलो लाग्न थालेको छ उहाँलाई ।
‘अर्काको देशमा जति राम्रो काम गरे पनि स्वदेशमा आफ्नै व्यवसाय गरेजस्तो त नहुँदो रहेछ’, उहाँ भन्नुहुन्छ, ‘अहिले परिवारसँगै बस्न पाएको छु । यो जति खुशी अरु के होला र ?’ यसो भनिरहँदा दीपेन्द्रलाई आफू कतार जाँदाको क्षण याद आउँछ ।
‘त्योबेला देशको अवस्था नै त्यस्तै थियो नि’, उहाँ भन्नुहुन्छ, ‘म काठमाण्डौमा बिजुलीबाट गुड्ने सफा टेम्पो चलाउँथे, तर १२ घण्टा त लोडसेडिङ नै हुन्थ्यो ।’
दीपेन्द्रले वि.सं. २०५० सालमा गाउँकै सरकारी क्याम्पसबाट १२ कक्षा पास गर्नुभयो । त्यहीबेला गाउँमा विकासको चहलपहल बढिरहेको थियो । गाडी गुड्ने बाटो खन्ने काम भइरहेको थियो । दीपेन्द्रका बुवा पनि भारतीय सेनाबाट अवकाश पाएर घर आउनुभएको थियो । भूतपूर्व सेना । गाउँको बदलिंदो अवस्थालाई देखेर दिमागमा नयाँ जुक्ति आइहाल्यो ।
‘गाडी गुड्ने बाटो बन्दै छ, गाडी किन्नुपर्छ’, बुवाको सल्लाह र आफ्नो इच्छाले मेला खायो । वि.सं २०५४ सालमा बस किन्नुभयो । तर आफूलाई गाडी चलाउन आउँदैनथियो । ड्राइभर राखेर भए पनि गाडी चलाउन सुरु गर्नुभयो । सदरमुकामदेखि गाउँसम्म ३३ किलोमिटरको दूरीमा दीपेन्द्रको गाडी चल्थ्यो । उहाँले पाल्पामा किराना पसल पनि खोल्नुभयो । त्यतिबेलासम्म दिपेन्द्र पढाइ छोडेर पुरै व्यवसायतिर लागिसक्नुभएको थियो ।
त्यसपछि बिस्तारै गाडी चलाउन पनि सिक्नुभयो । पहाडको बाटो गाडी बिग्रिरहने । मर्मतमा खर्च धेरै लाग्ने । गाउँमा जति संघर्ष गरे पनि अपेक्षा गरेजस्तो कमाइ भएन । त्यसपछि उहाँले काठमाण्डौ गएर केही गर्नुपर्यो भन्ने सोच्नुभयो ।
‘गाउँका एक–दुईजना साथीहरुले काठमाण्डौमा सफा टेम्पो चलाइरहेका थिए’, उहाँले भन्नुभयो, ‘म पनि काठमाण्डौ गएर सफा टेम्पो चलाउनुपर्यो भनेर काठमाण्डौ आएँ ।’
वि.सं. २०६१ साल । काठमाण्डौमा त्यतिबेला सफा टेम्पो चल्थे । दीपेन्द्रले पनि बिजुलीबाट चल्ने सफा टेम्पो किन्नुभयो ।
त्यसपछि काठमाण्डौमा दीपेन्द्रको सफा टेम्पो चल्न सुरु भयो । तर कहिलेकाहीँ त्यसले पनि धोका दिन थाल्यो । लोडसेडिङ हुँदा घरमै थन्क्याएर राख्नुपर्ने । कति दिन त ब्याट्री चार्ज गर्नै नपाएर काम नगरी बस्नुपथ्र्यो । ब्याट्री पनि वर्षैपिच्छे फेर्नुपर्ने । नयाँ ब्याट्री फेर्न निकै महंगो पर्ने ।
तीन वर्ष त्यही ट्याम्पो चलाउनुभयो । बिस्तारै यसले निकै दिक्क लागेर उहाँले यो काम पनि छोड्ने निर्णय गर्नुभयो ।
गाउँको संघर्ष । काठमाण्डौमा आएर गरेको संघर्ष । कतैबाट पनि अपेक्षा गरेअनुसारको आत्मसन्तुष्टी नमिलेपछि उहाँले वैदेशिक रोजगारीको बाटो रोज्नुभयो ।त्यसपछि भएको ट्याम्पो बेच्नुभयो । फ्यूजन इन्टरनेशनल म्यानपावरलाई एकलाख १० हजार रुपैयाँ तिरेर कतार जानुभयो । यो सन् २००८ को कुरा हो ।
दीपेन्द्रले कतारमा यहाँबाट भनेअनुसारकै काम र तलब पाउनुभयो । ‘ड्राइभिङ’को काम । तलब मासिक २४ सय रियाल । समग्रमा भन्नुपर्दा आफूले चाहेजस्तै काम पाउनुभयो ।
‘त्योबेला त्यति तलब धेरै नै मानिन्थ्यो’ दीपेन्द्रले भन्नुभयो, ‘त्यसैमाथि कतारमा गाडी चलाउने काम पनि कमैले पाउँथे ।’
दीपेन्द्रले कतारको पब्लिक ट्रान्सपोर्ट कम्पनीमा सार्वजनिक गाडी चलाउने काम गर्नुपथ्र्यो । सफा बस र चिल्ला सडकमा गाडी चलाउँदा बेलाबेला उहाँलाई नेपालका सडकका खाल्डाखुल्डीले तर्साइरहन्थे । उहाँलाई लाग्थ्यो, ‘नेपालमा पनि यस्तो सुविधा भए त मैले विदेश आउनु पर्दैन थियो होला ।’
काम गर्दै जाँदा पाँच वर्ष बिते । उहाँले सन् २०१३ सम्म एउटै कम्पनीमा काम गर्नुभयो । त्यही गाडी चलाउने काम । त्यसपछि उहाँ सन् २०१३ मा स्वदेशमै काम गर्छु भनेर नेपाल फर्किनुभयो ।
आफूले जानेको सीप भनेको गाडी चलाउने नै थियो । नेपला फर्केर पनि उहाँले त्यही पेसा अंगाल्नुभयो । ट्याक्सी किन्नुभयो र काठमाण्डौमा आफ्नै ट्याक्सी चलाउन थाल्नुभयो । दुई वर्ष ‘ट्याक्सी ट्याक्सी’ भन्दै बिते ।
कहाँ कतारका चिल्ला सडकमा सफा र आधुनिक बस चलाउने काम, कहाँ काठमाण्डौको धुलोधुवाँमा ट्याक्सी ट्याक्सी भन्दै कराउँदा पनि मान्छे नपाएर दिक्क मान्नुपर्ने अवस्था । दीपेन्द्रलाई फेरि फर्केर कतारमै जाने हुटहुटी चल्यो । त्यसपछि ट्याक्सी बेच्नुभयो र लाग्नुभयो कतार । यसपटक पनि उहाँ गाडी चलाउने काममै जानुभयो ।
काम पहिलेकोभन्दा झनै राम्रो मिल्यो । विमानस्थलमा यात्रुहरुको सेवाको लागि भनेर सञ्चालनमा ल्याइएका बस चलाउनुपथ्र्यो । जोकसैले नपाउने काम आफूले पाएकोमा त्यतिबेला निकै खुसी लाग्थ्यो दीपेन्द्रलाई ।
‘पछिल्लो पटक त मैले झन बिरलै पाइने काम पाएँ’, उहाँ त्यो क्षण सम्झेर अहिले पनि मुस्कुराउनुहुन्छ ।
तर मनै त हो नि । कति धेरै अर्काको देशमा काम गर्ने ? परिवाबाट कहिलेसम्म अलग भएर बस्ने ? यस्तै–यस्तै प्रश्न र नेपालमै केही गर्नुपर्छ भन्ने बेचैनीले लखेटिरह्यो । आँखामा झलझली आउन थाले, काठमाण्डौका सडक र यहाँ गरेको संघर्ष । परिवार छोरीहरु अनि नेपालकै माटो ।
त्यतिबेला उहाँको तलब एक लाख नेपाली रुपैयाँ थियो । तर उहाँलाई भने धेरै कमाइ गर्ने भन्दा पनि परिवारसँगै बस्नु थियो । हुर्केकी छोरीहरुको सहयात्री बन्न मन थियो ।
त्यसपछि उहाँ २७ महिना काम गरेर कहिल्यै विदेशमा नफर्किने बाचाका साथ सन् २०१८ मा नेपाल फर्कनुभयो ।
पक्कै पनि कतारको त्यति आकर्षक काम छाडेर देशमै केही गर्छुँ भनेर आउनु दीपेन्द्रको लागि चुनौतीपूर्ण थियो नै । स्वदेशमै केही गर्ने सुरुका प्रयासहरुबाट बिरक्तिएर नै कतार जानुभएको थियो । फर्केर आएपछि अब के गर्ने भन्ने प्रश्न अगाडि आएर उभियो ।
विदेशबाट फर्किएका धेरै युवालेझैँ उहाँले पनि कृषिमा लगानी गर्ने सोच्नुभयो । साथीहरुसँग मिलेर काठमाण्डौको फर्पिङमा तरकारी खेती गर्ने योजना पनि बन्यो । पाँचजना साथीहरु मिलेर २४ लाखको लगानी गरे । त्यसपछि ३५ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु भयो ।
तर कृषिमा दीपेन्द्रको मन रम्न सकेन । आफू बानेश्वरमा बस्ने र कृषि फार्म टाढा भएकोले उहाँले त्यसमा निरन्तरता दिन सक्नुभएन । काम सुरु गरेको तीन महिनामै साथीहरुसँग सल्लाह गरेर आफूले अर्कै व्यवसाय गर्ने निर्णय गर्नुभयो ।
त्यसपछि उहाँको दिमागमा उपाय फुरिहाल्यो, ‘गाडी धुने काम गर्ने ।’
‘गाडी धुने काम ?’
कतारका चिल्ला सडकमा सफा गाडी चलाएको बानी । गाडी धुने काममा कसरी मन लाग्छ भनेर अरुले कुरा नकाटेका होइनन् । तर दीपेन्द्रले गर्ने भनेर अठोट गरिसकेपछि कसैको केही लागेन ।
कतारमा गाडी चलाउने क्रममा पेट्रोल भर्नेदेखि गाडी धुने सबै काम गर्नुपथ्र्यो । स्याम्पु र पानी मात्र खर्च हुने तर कमाई बढी । यही कुराले यो पेशामा उहाँको ध्यान तानियो । त्यसपछि उहाँले १५ लाख रुपैयाँको लगानीमा कार वास सेन्टर खोल्नुभयो । २०७५ असोज १ गतेदेखि उहाँको ‘बाबा कार वास सेन्टर’ सञ्चालनमा आयो ।
सर्भिस सेन्टरमा कार, जीप, साना बसहरु तथा मोटरसाइकल र स्कुटर पनि धुनुहुन्छ । बस धोएको १ हजार, कार धोएको पाँचसय र मोटरसाइकल स्कुटर धोएको एकसय रुपैयाँ लिनुहुन्छ । दैनिक १४/१५ वटा गाडी धुनुहुन्छ, त्यसबापत ७/८ हजार कमाइ हुन्छ । महिनाको अढाई लाख रुपैयाँ कमाउनुहुन्छ । कम लागनीमा बढी नाफा कमाउन सकिने भएकाले यही व्यवसायलाई अंगालेको उहाँ बताउनुहुन्छ ।
‘मार्जिन राम्रो छ’ उहाँ भन्नुहुन्छ, ‘२०/३० रुपैयाँको सामग्रीले ४/५ सय जति कमाउन सकिने भएकाले आम्दानी चित्तबुझ्दो नै हुन्छ ।’
कार वास सेन्टरमा तीनजना कामदार पनि राख्नुभएको छ । ‘आफू कतारमा भएको भए राम्रो कमाइ भए पनि आफ्नो घरमा मात्रै चुलो बल्थ्यो, तर यहाँ व्यवसाय गरेका कारण थप तीन जनाको घरमा पनि चुल्हो बल्न सघाउ पुगेको छ’ दीपेन्द्र सन्तुष्ट हुँदै भन्नुहुन्छ ।
‘खुशी खोज्न परदेशमै बस्नुपर्छ भन्ने रहेनछ’ उहाँ भन्नुहुन्छ, ‘दुई चार जनालाई रोजगारी दिनसक्ने व्यवसाय र साथमा परिवार भए पुगिहाल्यो नि ।’
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।