नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
उमेर त मेरो नातिनातिना खेलाएर रमाउँदै बस्ने भयो । तर बाध्यता यस्तो छ कि ज्यामी काम नगरी घरमा बिहान बेलुकी आगो बल्दैन । नरोएको दिन नै हुँदैन ।
उमेरले ५७ वर्ष लागे । उमेरको मात्र त के कुरा र पिरले ज्यान गलेर एक मुठ्ठी सास कुन बेला निभ्छ जस्तो लाग्छ ।
मेरो तीन भाइ छोरा हुन् । एउटा छोरो भारतमा काम गर्दै छ । एउटा छोरो गाउँघरमै छ । तर मलाई पिर मलेसियामा हराएको जेठो छोराको छ । मेरो छोरो गोपाल घिमिरे रोजगारीका लागि मलेसिया गएको १४ वर्ष भयो । घरमा मलाई फोन नगरेको पाँच वर्ष हुन लाग्यो ।
मेरो छोरो कमाउँछु आमा भनेर मलेसिया गएको थियो । उसलाई के भयो मलाई थाहा छैन । तर यहाँ उसको अनुपस्थितिमा के मात्र भएको छैन । उसले छाडेर गएकी बुहारीले संसार छाडेको एक वर्ष हुन लाग्यो । बाउले छाड्दा ६ वर्षको बालखा मेरो नाति अहिले १८ वर्षको लागिसक्यो । उसले आफ्नो बुवा कस्तो हुन्छ भन्ने कुरा अनुभव गर्न पाएको छैन ।
गएदेखि गोपाल फर्केर पनि नेपाल आएको छैन । जाने बेला बुहारीसँगको सल्लाहमा गएको हो । अहिले त उ पनि यो संसारमा छैन । नातिलाई मैले नै पालिरहेको छु ।
छोराछोरीले जसो गरे पनि । बाउआमा भनेर नसम्झिए पनि माया लाग्ने रहेछ । यो आमाको मन रुन्छ भन्ने त छोराछोरीले कहाँ बुझ्दा रहेछन् र ।
मलेसियाबाट मलाई बेलाबेलामा फोन गरिरहन्थ्यो । यतिका वर्ष भइसक्यो बाबु अब त घर आइज न भनेर मैले कति भनेको पनि । मलेसियामा मानिस हराएको, कतिले मारिदिएको, जेल परेको खबर सुन्दा डर लाग्थ्यो ।
बाबु त्यो ठाउँ त खराब रहेछ आइज न भन्थ्यें । म त यहाँको लोकलजस्तै हो मलाई केही हुन्न आमा राम्रो छ मेरो चिन्ता नगर्नु भन्यो । पछिपछि भएपछि चाहिँ इलिगल भएको छु आमा अब बिस्तारै आउँछु भन्थ्यो ।
अन्तिम पटक फोन गर्दा पनि मैले बाबु आइज, त आउनलाई म मर्नु पर्ने हो र भनेको थिएँ । उसले आमा त्यसो नभन्नु मैले सुन पनि किनेको छु अब त म छिट्टै आउँछु भन्थ्यो । म त खुसीले कति गद गद भएको थिए । तर त्यो सुन किनेको छु भनेका दिनदेखि मेरो छोरो घर आउनु त परको कुरा कहिलेकाहीँ आउने फोन पनि बन्छ भयो ।
बुहारीले नातिलाई भारत तिरै लगेर गएकी थिइन । खै किन हो एक वर्ष अघि उसले पनि आत्महत्या गरिछन् । त्यसपछि नाति एक्लै भयो । अहिले नातिलाई मैले नै ल्याएको छु । पढाई पनि छुटेको रहेछ । अहिले सात कक्षादेखि नातिलाई पढ्न पठाएको छु । म घर बनाउने ठाउँमा ज्यामी काम गर्छु । खेतिपाति हाम्रो केही पनि छैन । यही काम गरेर मैले श्रीमान् र नातिको रेखदेख गरिरहेको छु ।
भारी बोक्दा मुटु फुट्ला जस्तो हुन्छ । तर के गर्नु काम नगरी सुखै छैन । बाबु तलाई थाहा छ तेरो बुवाको भर छैन । आँखाबाट आँसुका धारा बगाउँदै मैले भारी बोकिरहेछु ।
छोराछोरी जति भए पनि यस्तै रहेछ । अलिकति सोझो र मलाई माया गर्ने त थिइस् खै त पनि कता हराइस् बाबु ।
नातिको पनि कोही छैन । आमा पनि छैन । बाउ पनि कहाँ हो कहाँ खबर छैन । बेला बेलामा आमा ड्याडीलाई खोजौँ न भन्छ । घरी घरी त ड्याडी हुनुहुन्न होला नि नत्र त फोन गर्नुहुन्थ्यो नि भनेर गुनासो गर्छ । म बुढी काम गरौँ कि छोरो खोजौँ बुढेसकालमा बेहाल छ ।
सपनामा कति देख्छु । कालो लुगा लगाएको हुन्छ । बोलाउँछु तर बोल्दैन । कहिलेकाहीँ त सपनामा नै भए पनि कुरा गर्न पाए मनको कुरा भन्थेंजस्तो लाग्छ ।
त जहाँ भए पनि आमा भनेर फोन गर बाबु मलाई अरू केही चाहिँदैन । त छस्, तपाईँ सन्चो छ भन्ने सुन्न पाएँ मलाई केही चाहिँदैन । मन लाग्दैन भने घर आइज भनेर कर पनि गर्दिन ।
मलेसियाको कस्तो कस्तो खबर सुन्दा मनले ठाउँ छोड्छ । कहिले त आशै मर्छ । तर आमाको मन न हो । आस नगरी बस्न कहाँ सकिन्छ र ।
Devendra Dhakal
Aug. 3, 2023, 4:05 a.m.Person showing same was seen in kwalalampur international airport on July 7 in mid day and he have laugage (hand). He was seen like drunk and talking that he don't want to go home and never returned to home from when he come to Malaysia. It was seven year. This time company closed and owner send me home. I don't want to go to home he said. He said his house lies in eastern part of Nepal.