खोटाङको जन्तेढुङ्गामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने तयारी

 बैशाख १९, २०८१ बुधबार १३:०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने योजना अघि बढेको छ । जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर–१, ३, ४, ५ र ६ का नागरिकलाई पिउने पानीको व्यवस्थापनका लागि बुवाँखोला लिफ्टिङ खानेपानी योजनाको काम अघि बढाइएको हो ।

खानेपानी विभागसँगको सहकार्यमा प्रिक्सा कन्सल्टेन्सीले यही वैशाख ९ गते शुरु गरेर वैसाख १३ गते लिफ्टिङ आयोजनाको सर्वेक्षण पूरा गरेको छ । आयोजना सुनिश्चित भएको दुई वर्षपछि मात्रै लिफ्टिङ खानेपानी आयोजनाको सर्वेक्षण तथा डीपीआरको काम अघि बढेको हो ।

आयोजनाको डीपीआर तयार पार्न अझै कम्तीमा दुई हप्ता लाग्ने छ । मन्त्रालयबाट थोरै बजेट विनियोजन हुँदा दुई वर्षसम्म आयोजनाको सर्वेक्षणको काम नभएको जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र बिष्टले बताउनुभयो । उहाँको पहलमा सङ्घीय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मै ‘बुवाँखोला लिफ्टिङ खानेपानी आयोजना’ लाई रातो किताबमा समेटेको थियो ।

आयोजनाअन्तर्गत बुवाँखोलाको चण्डीथानमाथि झोलुङ्गे पुलछेउबाट पहिलो मोटर राखेर १ हजार ९ सय ५८ मिटर उचाइमा रहेको भञ्ज्याङखर्कमा पानी निकालेर गाउँपालिकाभित्रका बस्तीमा पानी वितरण गर्ने योजना छ ।

लिफ्टिङ आयोजनाबाट जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर १, ३, ४, ५ र ६ मध्ये चार वडाका पूर्ण र वडा नम्बर १ को पैयाँटार, देवीस्थान, रिला, बुकुलाका स्थानीय लाभान्वित हुनेछन् । लिफ्टिङ आयोजनाको लागत ४० देखि ५० करोड रुपैयाँ आउने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया