सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै : कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेस केही लचक

 जेठ १, २०८१ मंगलबार ७:४५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारको आउँदो आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

संसद् सचिवालयले नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

नीति तथा कार्यक्रम वाचन गरिसकेपछि राष्ट्रपतिलाई बिदाइ गरिनेछ । राष्ट्रपतिको बिदाइपछि अर्को बैठकमा प्रधानमन्त्रीले संयुक्त बैठकमा नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने कार्यसूची छ । राष्ट्रपतिलाई धन्यवादसहित नीति तथा कार्यक्रम टेबल गर्न प्रतिनिधिसभाको बेलुका ६ बजे र राष्ट्रिय सभाको साढे ५ बजे दोस्रो बैठक राखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सुशासन, समृद्धि, सामाजिक न्याय, रोजगारी र अर्थतन्त्रको सुधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आउन लागेको बताउनुभएको छ । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा निरन्तर अवरोध गर्दै आएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेसले केही लचकता देखाए पनि त्यसपछिका प्रक्रिया सहज बनाउन सरकारमाथि दबाब कायमै छ । मध्यमार्गी सहमति जुटाएर सदन चलाउन प्रधानमन्त्री प्रचण्डले निरन्तर पहल गरे पनि अहिलेसम्म ठोस प्रगति भएको छैन ।

राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, तर सत्तापक्ष सहमतिमा नआए त्यसपछिको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । हिजो बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संसदीय छानबिन समिति गठनको माग कायमै राख्नुपर्ने निष्कर्ष निकालेको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया