तराईमा तातो हावाको लहर अझै केही दिन चल्ने : आज पहाडी केही ठाउँको मौसम बदली

 जेठ ५, २०८१ शनिबार ८:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ । तराईमा गर्मी बढ्दो क्रममै छ । मुख्य गरी लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका धेरैजसो ठाउँमा तापक्रम ४० डिग्री नाघेको छ । धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियभन्दा माथी पुगेको छ ।

वैशाखको अन्तिम हप्ता पानी परेपछि उखरमाउलो गर्मी घटेर राहत मिलेको तराई मधेशमा फेरि गर्मी बढेको हो । गर्मी बढेसँगै तराई मधेशको जनजीवन कष्टकर बनेको छ । उखरमाउलो गर्मीका कारण घर बाहिर निस्कनै समस्या भएको स्थानीयबासिन्दाले बताएका छन् ।

गर्मीका कारण ज्वरो, झाडापखाला लगायतका समस्यासँगै पछिल्लो समयमा दमका बिरामीसमेत बढेका नेपालगञ्ज भेरी अस्पतालका डाक्टर संकेतकुमार रिसाल बताउनुहुन्छ । गर्मीका कारण शरीरमा पानी कमी भएर रिँगटा लाग्ने र मुर्छा परियलाजस्तो हुने, मुटुको ढुकढुकी बढ्ने, शरीरले छालाबाट ताप फाल्दा रातो डाम देखापर्ने, पसिना धेरै आउने, रगतको प्रवाह बढ्दा कुर्कुचा सुन्निने जस्ता लक्षणहरु देखा पर्छन् । गर्मीले शरीरलाई हानी गर्ने भएकोले सावधानी अपनाउनुपर्ने डाक्टर रिसालको सुझाव छ ।

आज देशका पहाडी केही क्षेत्रको मौसम बदली छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । नेपालमा अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया