सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगमा काटेको बिजुली आजदेखि जोड्ने भएको छ । प्राधिकरणको बोर्ड बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको बिजुली उपभोग गरेर बक्यौता नबुझाएका ६ वटा उद्योगमा काटिएको बिजुली आजदेखि जोडिदिने निर्णय गरेको हो ।
उद्योगहरूलाई बक्यौता रकम बुझाउन प्राधिकरणले तीन महिनाको समय दिएको छ । तीन महिनाभित्र उद्योगीहरूले बक्यौता भुक्तानी नगरेमा फेरि कारबाही प्रक्रिया शुरु गर्ने विद्युत् नियमन आयोगको निर्देशनअनुसार आजदेखि बिजुली जोड्न थाल्ने प्राधिकरणले जनाएको छ ।
बिजुली महसुल नतिरेको भन्दै प्राधिकरणले गएको असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील्स, जगदम्बा सेन्थेटिक्स र हुलास स्टील्स गरी ६ वटा उद्योगको लाइन काटेको थियो । आजको बोर्डको बैठकमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राख्नुभएको थियो ।
उद्योगहरूको बिजुली काटिएको विषयमा प्रतिनिधि सभाको बैठकमा पनि तीन दिनदेखि पक्ष र विपक्षमा बहस भइरहेको छ । उद्योगीहरूले तिर्नुपर्ने झन्डै साढे आठ अर्ब रुपैयाँ सरकारले मिनाहा गर्न खोजेको माओवादीको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने उद्योगीहरूले उपभोग नगरेको बिजुलीको महसुल तिराउन खोजेको भन्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति संसद्को रोस्ट्रमबाटै आक्रोश पोख्दै आउनुभएको छ ।
गएको शुक्रवार नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा बिजुली जोड्न विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । तर विद्युत् प्राधिकरणले लिखित निर्देशन नआएसम्म लाइन जोड्न आनाकानी गरेको थियो ।
आमनागरिक दैनिक १८ घण्टासम्म लोडशेडिङमा बस्नुपरेका बेला केही उद्योगहरूले डेडिकेडेट फिडर र ट्रङ्क लाइनमार्फत चौबीसै घण्टासम्म बिजुली उपभोग गरेका थिए । त्यसरी बिजुली उपभोग गर्दा ६५ प्रतिशतसम्म प्रिमियम शुल्क लिने नियम छ । अहिले उद्योगहरूले प्रिमियम शुल्क नतिर्ने अडान लिँदै आएका छन् । विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद जारी छ । अदालत, संसद्को लेखा समिति, अख्तियार लगायतका निकायबाट विद्युत् प्राधिकरणलाई उद्योगहरूबाट बक्यौता उठाउन बाटो खुला भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।