ललितपुर १८ मा नयाँ मन्त्री निवास जोड्ने वैकल्पिक सडकको बेहाल

 भदौ १४, २०८१ शुक्रबार ८:५३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको वडा नम्बर १८ मा पर्ने जलविनायक मार्गको चोभारभञ्ज्याङ–मगरगाउँ बीचको सडक बनाउने काम अलपत्र परेको छ । गएको मङ्सिरदेखि सडक स्तरोन्नति र कालोपत्रको लागि काम शुरु भएको हो । तर वर्षा लाग्नेबित्तिकै निर्माणको काम अलपत्र हुँदा स्थानीयबासिन्दा र पैदलयात्रुले सास्ती खेप्नुपरेको छ ।

झण्डै एक किलोमिटर यो सडकमा खाल्डाखुल्डी र अव्यवस्थित ढलले गाडी चलाउन र पैदल हिँड्न पनि समस्या परेको स्थानीयबासिन्दाको गुनासो छ । बाटोकै छेउमा दुई वटा स्कुल छन् । स्कुल पढ्ने विद्यार्थी र विद्यार्थी बोक्ने गाडीलाई सबैभन्दा बढी समस्या परेको छ ।

यो सडकको लागि पटक–पटक ढल निर्माण र बाटो स्तरोन्नतिका लागि परियोजना परे पनि सबै काम अलपत्र छन् । समयमै काम नसकिँदा ढलका मंगलहरुको ढक्कन नै हराउन र बिग्रिन थालेको छ । यो सडक भैँसेपाटीको नवनिर्मित मन्त्री निवास जोड्ने वैकल्पिक मार्ग पनि हो ।

समयमै काम सक्न वडा कार्यालय र सङ्घीय सांसदलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको स्थानीयबासिन्दाको गुनासो छ । निर्माणाधीन सडक छेउमा घर हुनुभएका ललितपुर वडा नम्बर १८ का वडाध्यक्ष दामोदर खड्काले अबको तीन, चार महिनामा काम सकिने दाबी गर्नुभयो ।

ढल र पाइप राखेर सडक सम्याउने काम शुरु भए पनि वर्षाका कारण समस्या भएको उहाँको भनाइ छ । अब वर्षा सकिएलगत्तै कामले गति लिने र तिहारलगत्तै सडक कालोपत्र हुने पनि उहाँले बताउनुभयो । बढीमा तीन, चार महिनाभित्र सडक निर्माणको काम सक्न वडाले ठेकेदारलाई ताकेता गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । अहिलेलाई यात्रु र स्थानीयबासिन्दाको सुविधाको लागि खाल्डाखुल्डी पुर्न र बिग्रेभत्किएका ठाउँ बनाउन आज भोलिमै काम हुने वडाध्यक्ष खड्काले बताउनुभयो ।

 


 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया