एमसीए–नेपालद्वारा १८ किमी प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

 भदौ १४, २०८१ शुक्रबार १८:१५:२४ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए–नेपालले हस्ताक्षर गरेको छ । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङदेले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो आयोजनाका लागि १२ दशमलव ३६ मिलियन अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।

अर्थसचिव एवम् एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भन्नुभयो, ‘निर्माण सम्झौता सम्पन्न भइसकेका तीन वटा सबस्टेशनसहित यो १८ किमी प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन सघाउने सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, ‘यो १८ किमी अंश निर्माण आयोजना मात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउने सन्दर्भमा यो महत्त्वपूर्ण सेतु हो । यो उपलब्धि संलग्न भएका सबैको रणनैतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो ।’

एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले भन्नुभयो, ‘१८ किमी सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्ने सन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने हाम्रो साझा यात्राको एउटा मुख्य कोशेढुङ्गा हो । यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौं सफलतामध्ये एउटा हो तर यसले वृहद् दुई सय ९७ किमी लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने भएकोले यसको विशेष महत्त्व छ ।’

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झौता प्रगतिको सूचक भएको बताउनुभयो । ‘छिटो निर्माण सम्पन्न गर्नका लागि वृहद् प्रसारण लाइनबाट छुट्याइएको १८ किमी सीमापार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ र सबै सरोकारवालाबीचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ’, उहाँले भन्नुभयो ।

बाँकी दुई सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसीए–नेपालले तयारी गरिरहेको जनाइएको छ ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया