आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

 मंसिर ५, २०८१ बुधबार १२:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यो वर्ष भविष्यलाई सुनौँ, बालबालिकाको अधिकारका लागि जागौँ भन्ने नाराका साथ विश्वभरि दिवस मनाउन लागिएको हो ।

विश्वभरका बालबालिकाको अधिकारको सुनिश्चितता होस् भन्ने उद्देश्यले मनाइने यो दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सुनिश्चितताका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउँदै आएका छन् ।

बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् ।

यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायतका व्यवस्था छन् ।

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि १९८९ अनुमोदन गरेको ३४ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते महासन्धिलाई विना शर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो । नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मनाउँदै आएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया