वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोडले घट्यो

 पुष ८, २०८१ सोमबार ८:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढेको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को पुस पहिलो हप्तासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गएको आर्थिक वर्षको यही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा दुई सय ३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता एक सय ५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता दुई सय ८० प्रतिशतले बढेको हो ।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गएको वर्षको समान अवधिको तुलनामा ३० प्रतिशतले बढेको प्रवक्ता भट्टराईले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा वैदेशिक अनुदान छ अर्ब ७५ करोड रुपैयाँ, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ गरी कुल ४४ अर्ब आठ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।

यसैबीच सरकारले चालु आर्थिक वर्षको ५ महिना अवधिमा १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ ।

मङ्सिर मसान्तसम्म सरकारले वार्षिक बजेट विनियोजनको ४२ दशमलव ३५ प्रतिशत रकम ऋण तिर्न खर्च गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ५ महिनामा सरकारले १ खर्ब ४९ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण तथा २० अर्ब ९३ करोड रुपैया बाह्य ऋणको दायित्व घटाएको छ ।

मङ्सिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँ र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ । कार्यालयका अनुसार आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब २४ करोड रुपैयाँ तथा ब्याज भुक्तानीमा २२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको  छ ।

त्यस्तै बाह्य ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३१ करोड रुपैयाँ तथा ब्याज भुक्तानीमा ३ अर्ब ६१ रुपैयाँ खर्च भएको देखिएको छ । विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण बाह्य ऋणमा १० अर्ब ५७ करोड दायित्व थप भएको कार्यालयले जनाएको छ ।

मङ्सिर मसान्तसम्म सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण तथा २८ अर्ब २९ करोड रुपैयाँ बाह्य  ऋण प्राप्त गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो १ महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैयाँले घटेको छ ।

सरकारले मङ्सिर महिनामा ५८ अर्ब २४ करोड रुपैयाँ ऋण भुक्तानी गरेपछि सार्वजनिक ऋण साढे २५ अर्ब रुपैयाँले घटेको हो । मङ्सिर महिनामा सरकारले २१ अर्ब २३ करोड रुपैयाँ ऋण प्राप्ती गरेको छ भने ५८ अर्ब २४ करोड रुपैयाँ तिरेको देखिन्छ ।

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा भने सार्वजनिक ऋण ५८ करोड ३१ अर्ब रुपैयाँ थपिएको छ । योसँगै मङ्सिर मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया