किसान सूचीकरणको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल

 पुष १०, २०८१ बुधबार ९:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – किसान सूचीकरणको प्रभावकारी कार्यान्वयनको विषयमा राष्ट्रिय किसान आयोगले सरोकारवाला निकायसँग छलफललाई तीव्र पारेको छ । आयोगले देशका विभिन्न ठाउँमा अन्तरक्रियात्मक छलफल गरिरहेको छ ।

मुख्यगरी पालिकासँग आयोगले समन्वयात्मक सम्बन्ध स्थापित गर्दै नीतिगत तहमा किसानका समस्याबारे प्राप्त जानकारी पुर्‍याउने उद्देश्य राखेको छ । पालिकामा किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था, समस्या र चुनौती र यसमा उठ्ने गरेका सवालबारे हिजो रुपन्देहीको भैरहवामा छलफल कार्यक्रम गरिएको छ ।

छलफल कार्यक्रममा रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सरोकारवाला निकायका प्रतिनिधिको सहभागीता रहेको थियो ।

कार्यक्रममा आयोगका सदस्य सूर्यप्रसाद खनाल, पुष्पा भुसाललगायतले किसानको वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र त्यसैको आधारमा राज्यबाट प्रवाह हुने कृषिसँग सम्बन्धित सम्पूर्ण सेवा–सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य रहेकोबारेमा जानकारी गराउनुभएको थियो ।

सबै पालिकाले किसान सुचीकरण कार्यक्रम प्रभावकारी सञ्चालन गर्न तथा वर्गीकरणसमेत गरी परिचयपत्र वितरण गर्न राष्ट्रिय किसान आयोगको निरन्तर आग्रह गर्दै आएको छ । आफ्नो पायक पर्ने वडा कार्यालय वा सम्बन्धित पालिका तहमा सम्पर्क गरी सुचीकृत हुन सकिन्छ ।

चालु आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये ३० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत गर्ने लक्ष्य लिएको हो ।

कृषि पेशा/व्यवसायमा संलग्न रहेका किसानले सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण सङ्केत नम्बर अनिवार्य रहेकोले सफ्टवेयरमा आबद्ध हुनु आवश्यक छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न किसान सूचीकरण व्यवस्थापन प्रणालीमा तोकिएको विवरण भर्नुपर्ने हुन्छ । 
 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया