आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस : सैनिक मञ्च टुँ...
फागुन १४, २०८१ बुधबार
रसुवा – रसुवागढी नाकाबाट कारोबार सुरु भएको झण्डै चार वर्ष भयो । २०७२ वैशाख १२ गतेअघि नाकामा सामान्य कारोबार हुँदै आएको थियो । भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भयो ।
चीनसँग सडक मार्गबाट कारोबार हुने एक मात्रै नाका भएपछि यहाँ कारोबार वृद्धि भएको देखिन्छ । रसुवागढी भन्सार कार्यालयले वार्षिक २ अर्ब ४ करोडदेखि ७ अर्बसम्म राजस्व उठाउने गरेको छ ।
तर सवारीको चापसँगै जीर्ण बन्दै गएको सडक मर्मत सम्भार हुन सकेको छैन । नाकामा पूर्वाधार विकास गरिएको छैन । भूकम्पको कारण नाका नजिकै झरेको पहिरो पन्छाउने काम गरिएको भए पनि संरक्षणको काम नहुँदा वर्षाको समयमा पहिरो जाने सम्भावना उच्च छ ।
रसुवागढीलाई चीनले प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय नाका घोषणा गरेको छ । अन्तर्राष्ट्रिय नाका घोषणासँगै चीनतर्फ पूर्वाधारको विकास गरिएको छ । नेपालतर्फ पूर्वाधारको विकास सुस्त हुँदा समस्या भएको प्रमुख भन्सार अधिकृत पूण्यविक्रम खड्काले बताउनुभयो ।
‘भूकम्पपछि अस्थायी रूपमा कार्यालय सञ्चालन हुँदा प्रविधि राख्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘एकीकृत भन्सार निर्माण सुस्त छ ।’ एकीकृत भन्सारको काम शहरी विकास तथा भवन निर्माण कार्यालय मार्फत भइरहेको छ ।
नेपालतर्फ पूर्वाधार विकास, एकीकृत भवन निर्माण र सुख्खा बन्दरगाह निर्माणको काम अघि बढाइएको भए पनि काम सुस्त भएको छ ।
मितेरी पुल पुनर्निर्माण
भूकम्पको कारण नेपाल चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको थियो । रसुवागढी नाकामा रहेको मितेरी जीर्ण बन्दै गएको र भूकम्पले पनि थप क्षति गरेपछि चीन सरकारले पुलको पुनर्निर्माण थालेको हो । पुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेको प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो ।
मितेरी पुलको निर्माणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने, व्यापार प्रबर्द्धनमा सहयोग पुग्ने र चीन सरकारको ‘वान वेल्ट वान रोड’को अवधारणमा सहयोग पुग्ने विश्वास गरिएको छ । पुनर्निर्माण हुन लागेको पुल अहिले रहेको पुलभन्दा ५ मिटर उत्तरपूर्व सर्ने भएको छ ।
गएको सेप्टेम्बरबाट सुरु गरेर २०१९ मे महिनासम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । पुनर्निर्माण ढिलो सुरु भएको भए पनि तोकिएको समय सीमाभित्रै काम सम्पन्न गर्ने निर्माण पक्षले जनाएको छ । पुलको लम्बाइ ११४ मिटर र चौडाइ ९.५ मिटर रहने छ ।
चीन जोड्ने छोटो दूरीको सडक सञ्चालन
चीनसँग व्यापारिक कारोबार बढाउनका लागि निर्माण गरिएको मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा आएको छ । भूकम्प जानुपूर्व निर्माण थालिएको सडक २०७४ चैतमा निर्माण सम्पन्न गरिएको थियो । नेपाली सेनाले निर्माण गरेको त्यो सडक गएको जेठ ६ गते हस्तान्तरण गरिएको थियो ।
यो सडक सञ्चालनमा आएसँगै त्यहाँ सवारीको चाप बढ्दै गएको छ । वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको विस्तृत परियोजना प्रतिवेदन डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो ।
यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।
२१ जना बेपत्ता
चार वर्ष अघि गएको भूकम्पले रसुवागढी नाकामा दर्जनौँ कन्टेनर पुरिएका थिए । कन्टेनरसँगै पुरिएका चालक, सहचालक तथा अन्य व्यक्ति गरी २१ बेपत्ता भए । पहिरो पन्छाउने काम गरिएको छ भने पहिरो रोक्नका लागि अरु काम गरिएको छैन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।