इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको ऐतिहासिक जित, २४ वर्ष पुरानो कीर्तिमान बराबर

 कात्तिक ९, २०७६ शनिबार ७:०:२७ | एजेन्सी
unn.prixa.net

लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल इतिहासमै सबैभन्दा ठूलो गोलअन्तरको जितका लागि २४ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको छ । आफ्नै मैदानमा १० खेलाडीमा समेटिएको साउथह्याम्प्टन यो खराब कीर्तिमानका लागि पराजित टिम बन्यो ।

सेन्ट मेरिज रंगशालामा वर्षाले प्रभावित खेल जितेपछि लिभरपुलका पूर्व प्रशिक्षक ब्रेन्डन रोजर्सको टिम लेस्टर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

१० खेलबाट २० अंक जोडेको लेस्टरले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई १ अंकले पछि पारेको छ भने शीर्ष स्थानको लिभरपुलसँगको दूरी ५ अंकमा झारेको छ ।

लेस्टरका स्टार जेमी भर्डीले खेलको इन्ज्यूरी समयमा पेनाल्टीमार्फत गोल गरेपछि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इपस्विचविरुद्ध निकालेको ९-० को जितको कीर्तिमान बराबरी भएको हो ।

भर्डी र एयोज पेरेजले ह्याट्रिक पूरा गरे । खेलको १२ औं मिनेटमै पेरेजविरुद्ध डरलाग्दो ट्याकल गरेका साउथह्याम्प्टनका र्‍यानन बर्टरान्डले रातो कार्ड पाएपछि पाहुना टोलीले गोलको वर्षा सुरु गरेको हो । त्यसको २ मिनेटअघि बेन चिलवेलले पाहुना टोलीका लागि पहिलो गोल गरेका थिए ।

लेस्टरले यो कीर्तिमानी जित क्लबका तत्कालीन अध्यक्ष भिचाई श्रीवद्धनाप्रभाको हेलिकोप्टर दुर्घटनाबाट निधन भएको वार्षिकीको २ दिनअघि हासिल गरेको हो । दुर्घटनामा अध्यक्षसहित ४ जनाको निधन भएको थियो ।

लेस्टरका लागि युरी टिलेम्यान्सले १७ औं मिनेटमा गोल गरेका थिए भने जेम्स म्याडिसनले ८५ औं मिनेटमा आठौं गोल गरेका थिए ।

पेरेजले १९ औं, ३९औं र ५७ औं मिनेटमा गोल गरे भने भर्डीले ४५औं, ५८औं र खेलको इन्ज्यूरी समयमा गोल गरे ।

१३१ वर्षको इंग्लिस प्रिमियर लिग इतिहासमा यो सबैभन्दा ठूलो अवे जित हो । योसँगै साउथह्याम्प्टनले कुनै पनि प्रतियोगितामा बेहोरेको यो सबैभन्दा ठूलो अन्तरको हार हो ।

अवे खेलको पहिलो हाफमै ५-० को अग्रता पनि प्रिमियर लिग इतिहासमा अहिलेसम्म ५ पटकमात्र भएको छ । यसअघि सन् २०१० मा म्यान्चेस्टर सिटीले बर्नलेबिरुद्ध उसैको मैदानमा यो कीर्तिमान बनाएको थियो ।

प्रिमियर लिग इतिहासमै एकै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको यो दोस्रो खेल हो । यसअघि सन् २००३ मा आर्सनलले साउथह्याम्प्टनविरुद्ध नै जित निकाल्दा पेन्नान्ट र पिरेसले ह्याट्रिक गरेका थिए ।

साउथह्याम्प्टनका प्रशिक्षक राल्फ हसेनहटलले हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने प्रतिक्रिया दिएका छन् ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया