यूएई जाने श्रमिकसँग बढी रकम लिने रसुवा ओभरसिजमा विभागको छापा

 मंसिर २३, २०७६ सोमबार ८:३७:४३ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले यूएई जाने दुई श्रमिकसँग बढी रकम लिने एअरपोर्टस्थित रसुवा ओभरसिजमा छापा मारेको छ ।

श्रमिकसँग पैसा मागिरहेको सूचनाको आधारमा ओभरसिजमा छापा मार्दा दुई श्रमिकबाट एक लाख २५ हजार लिइरहेको फेला परेको विभागले जनाएको छ । श्रमिकसँग लिएको रकम विभागले बरामद गरेको छ ।

यूएईको तमायाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेबरका लागि महिनाको आठ सय दिर्हाम तलब पाउने भन्दै रसुवा ओभरसिजले प्रतिव्यक्ति एक लाख २५ हजार रुपैयाँ मागेपछि सुरेन्द्र राना मगर ,बालकृष्ण गरंजा मगर, समिर गरंजा मगर, शन्तबहादुर गरंजा मगर र योगबहादुर गुरमछानले विभागमा निवेदन दर्ता गराएका थिए ।

विभागको टोली म्यानपावर कार्यालय पुग्दा एजेण्ट जितबहादुर बम्जनले योगबहादुर गुरमछानबाट ७० हजार र शन्तबहादुर जर्गा मगरबाट एक लाख १० हजार बुझिसकेका तथा बाँकी तीन जनासँग रकम लिने तयारी रहेको अवस्थामा थिए ।

एजेण्ट जीतबहादुरले यसअघि नै तीन जनासँग ३५ हजार लिइसकेको र बाँकी रकम लिएर आइतबार म्यानपावर कार्यालय बोलाएका थिए । रकम बुझ्न जीतबहादुरलाई खटाएको म्यानपावर सञ्चालक सुवर्ण लामाले स्वीकार गरेको विभागले जनाएको छ ।

विभागका अनुसार पाँच जनामध्ये चार जनाको श्रम स्वीकृति पनि भइसकेको तर भनेजति रकम नदिएका कारण म्यानपावरले उडान रोकेको थियो । विभागको टोलीले पाँचै जनालाई सरकारको नियम अनुसार पठाउन र नगद लिएको रकम श्रमिकलाई फिर्ता गर्न कागज गराएको छ ।

थप अनुसन्धानका लागि रकम बुझ्ने जीतबहादुर र म्यानपावर सञ्चालक सुवर्णलाई विभागमा उपस्थित हुन भनिएको विभागले जनाएको छ ।

श्रम समझदारीअनुसार नेपाली कामदार शून्य लागतमा यूएई जान पाउँछन् ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Biswash kunwar

    Dec. 9, 2019, 10:16 a.m.

    चोर नै चोरको देश !

  •  0 Reply

तपाईको प्रतिक्रिया