समाचार जबर्जस्ती हटाइएकोबारे पत्रकार महासंघद्वारा भर्त्सना

 चैत २०, २०७६ बिहीबार १८:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल पत्रकार महासंघले काठमाण्डौ प्रेस डट कममा प्रकाशित समाचार हटाएको घटनाको भर्त्सना गरेको छ ।

महासंघले बिहीबार विज्ञप्ति निकालेर काठमाण्डौ प्रेसमा छापिएको खबर हटाउन दबाब दिइएको र नमानेपछि अनलाइनको प्राविधिक सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुसँग सम्बन्धित समाचार प्रकाशित भएपछि समाचार हटाउन दबाब दिइएको र नमानेपछि समाचार हटाउनुका साथै केही बेर अरु समाचार पोष्ट गर्न पनि नमिल्ने बनाइएको भन्ने महासंघलाई जानकारी गराइएको महासंघले जनाएको छ  

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधान विपरीतको कार्य भएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

भविष्यमा यस किसिमका प्रेस स्वतन्त्रताविरोधी कार्य दोहोरिन नदिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न तथा स्वतन्त्र, सुरक्षित र निर्बाधरुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको पनि महांसघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया