फोहोर गरेबापत राप्रपाले काठमाण्डौ महानगरलाई एक लाख रुपैयाँ ...
फागुन २६, २०८१ सोमबार
अमेरिका र युक्रेनबीच महत्त्वपूर्ण मानिएको खनिज सम्झौतामा हस्ताक्षर हुनै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच नोकझोंक भएको घटनापछि विश्व तरंगित छ । ह्वाइट हाउसमा भएको यो घटनापछि दुवै देशबीच हुने भनिएको खनिज सम्झौता रद्द भयो । कतिपयले यसलाई शक्तिराष्ट्रहरूको बद्लिँदो विश्व नीतिका रूपमा लिएका छन् भने कतिपयले यसलाई अमेरिकाले अंगालेको नयाँ विदेश नीतिका रूपमा व्याख्या गरेका छन् । यसलाई शक्ति राष्ट्रहरूको कूटनीतिक परिवर्तनको संकेतका रूपमा पनि चर्चा भइरहेको छ । यसै विषयमा उज्यालो सहकर्मी हृदय रिमालले अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रका जानकार डा. लेखनाथ पौडेलसँग कुरा गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति र युक्रेनी राष्ट्रपतिबीचको विवादले के संकेत गर्छ ?
दुवै राष्ट्रपतिबीचको घट्नाक्रमका विषय भन्नुपर्दा कूटनीतिमा यस्ता विषय सामान्य मानिन्छन् । तर सार्वजनिक रूपमा सञ्चारमाध्यम अगाडि नै राखेर जुन परिस्थिति सिर्जना भयो यसले केही कुराहरूको आधारभूत संकेत गर्छ । सामान्यतया परराष्ट्रनीति वा कूटनीति स्थिर मानिन्छ तर यस ह्वाइट हाउस परिदृश्यपछि त्यो हुँदैन भन्ने कुरालाई बल पुगेको छ । कूटनीति वा परराष्ट्रनीति पनि राजनीतिको विस्तारित अंग हो भन्ने देखाएको छ । राजनीतिक परिवर्तनसँगै परराष्ट्रनीति पनि परिवर्तन हुँदै जान्छ भन्नेतर्फ अमेरिकी विदेश नीति अघि बढेको छ । परराष्ट्र नीति, धर्म, जाति, वर्ग, समुदायको सापेक्ष हुँदैन भन्ने कुरालाई पनि गलत सावित गर्छ । एउटा निश्चित मूल्य मान्यता विचार बोकेको स्वायत्त वर्गीय सर्वोच्चतालाई मान्य शक्ति र व्यक्ति सत्तामा आउँदा उसले आफ्नो सर्वोच्चता बलियो बनाउन के गर्न सक्छ भन्ने देखाएको छ । यसबाट अर्को महत्त्वपूर्ण कुरा कसैसँग पनि अति निकट र अति दूरीको सम्बन्ध राम्रो हुँदैन भन्ने पनि सन्देश दिएको छ । शक्ति राष्ट्रसँगको अति निकट र अति दूरी दुवै हानिकारक छ भन्ने यसले पुष्टि गर्छ ।
हिजो आफ्नो छिमेकी रुससँग अमेरिकी र युरोपेलीको आडमा युद्घमा गएको युक्रेनले यो अवस्था भोग्नु परेको हो । छिमेकीसँगको एक तहको सुमधुर सम्बन्ध अनिवार्य शर्त हो । बाहिरका शक्तिको आडमा छिमेकी देशसँगको सम्बन्ध बिगार्दा कस्तो परिणाम आउँदो रहेछ भन्ने कुरा युक्रेनले बुझेको छ । आफ्नो मतदाता रिझाउन ट्रम्पले जेलेन्स्कीलाई राजनीतिमा मूल्य, मान्यता, मर्यादा, केही सीमा हुन्छन् भन्ने कुरालाई बिर्सिएर शक्तिको नाङ्गो प्रदर्शन गरे । कूटनीतिको सामान्य सिद्घान्त पनि पालना गरेनन् । यसले दोस्रो विश्वयुद्घपछि स्थापित विश्व कूटनीतिक मूल्य मान्यतालाई भत्काउने प्रयास गरेको देखिन्छ ।
अमेरिकी राष्ट्रपतिसँगको विवादमा संयम हुनुपर्नेमा युक्रेनी राष्ट्रपति जेलेन्स्की किन रक्षात्मक बन्न पुगे होलान् ?
जेलेन्स्कीले अमेरिकाको साथ नपाउँदा आफू कमजोर भएको महसूस गरिसकेका थिए । रुससँगको युद्घ लड्न आवश्यक सहयोगका लागि अमेरिकालाई युुक्रेनमा भएको अमूल्य खनिज दिन तयार भएकै अवस्था हो । ट्रम्पको हप्काइपछि युक्रेनी सेना र नागरिकको मनोबल बढाउन पनि जेलेन्स्की अलि आक्रामक देखिए । विश्व समुदायलाई पनि आफूहरू कमजोर छैनौ भन्ने सन्देश दिन उनले यस्तो गरेको हुनुपर्छ । जे होस् जेलेन्स्की बाध्यतात्मक परिस्थितिमै अमेरिका पुगेका थिए ।
विश्व राजनीतिमा अमेरिकाले अवलम्बन गर्ने विदेश नीति कस्तो रहन्छ ?
मैले यहाँको प्रश्नलाई सच्चाएँ । मैले यसलाई समग्र अमेरिकाको नीति भन्दिनँ, यो सामान्यतया ट्रम्प नीति हो । पछिल्लो ६०÷७० वर्षदेखि साम्राज्यका रूपमा अमेरिका अघि बढेको देखिन्थ्यो, अब भने विस्थापित हुने बाटो यसले पटाक्षेप गरेको देखिन्छ । उनले प्रतिनिधित्व गर्ने नीति स्वयत्त सर्वोच्चतावादी मान्यतामा आधारित छ । समग्र अर्थतन्त्र केही निश्चित लक्ष्य देखिन्छ । ट्रम्पको अर्को उद्देश्य भनेको प्राकृतिक दोहन गरेरै भए पनि आर्थिक स्वार्थ पूर्ति गर्ने देखिन्छ । यो कुनै न कुनै किसिमकोे नवफासिवादी चरित्र हो । सत्तालाई केही धनाढ्यहरूको हातमा पु¥याउने बाटो उनले अंगालेको देखिन्छ । अर्थतन्त्रलाई विश्वव्यापी रूपमा अमेरिकी नीति भन्ने तर अमेरिकाभित्र केही निश्चित मान्छेसम्म पु¥याउने, राज्यका रूपमा अमेरिकाले नभई ट्रम्पले चाहेका केही मानिसहरूले पाउनु पर्ने उनको उद्देश्य देखिन्छ । एक प्रकारले स्वायत्त सर्वोच्चता अनुकूलको विचार वा व्यवस्था लागू गर्न खोजेका छन् । तर नवफासिवादी व्यवस्था स्थापना नसकेको खण्डमा भने यसबाट उनी आफै पछि हट्ने देखिन्छन् ।
अमेरिकी सत्ता पूँजीवादीहरूको हातमा गएको हो ?
अमेरिकी सत्ता करिव २ शताब्दीअघिदेखि नै पूँजीवादीहरूकै हातमा थियो । अमेरिका उदार लोकतन्त्रमा थियो जसले तल्लो वर्गको प्रतिनिधित्व गर्थ्याे, अब भने केही निश्चित अति धनाढ्य वर्गमा शक्ति पुर्याउने कामको शुरुआत भएको छ ।
अमेरिकासँगै विश्वका अरू शक्तिराष्ट्रहरूको विश्वलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुन्छ वा शक्तिराष्ट्रहरू कसरी अघि बढ्छन् ?
अमेरिका–युक्रेन मामिलामा पश्चिमा शक्ति विभाजित भएको देखिन्छ । यो घटनाले युरोपले आफूलाई स्वतन्त्र विश्वको नेतृत्व हौँ भन्ने दाबी गर्याे तर त्यो कति पूरा हुन्छ हेर्न बाँकी छ । युरोपभित्र दक्षिणपंक्तिहरू सक्रिय छन् । जस्तै– इटाली, फान्स, जर्मनीमा देखियो । अहिले युरोपमा रहेका सेन्ट्रिस लिबरल डेमोक्रेटिक फोर्सेसहरू अमेरिकाबाट अलग पुरानो लोकतान्त्रिक व्यवस्थालाई बचाउन खोजेका छन् । दोस्रो अमेरिकी वर्चस्वको विश्वव्यवस्था करिब सन् २००० देखि कमजोर हुँदै गएको देखिन्छ । पूर्वराष्ट्रपति बराक ओबामासम्मको पालामा त्यो व्यवस्थित नै थियो । तर अहिले फेरि अमेरिका महान् बनाउने नाममा नयाँ शक्तिहरूले उत्ताउलो नीति अवलम्बन गरेका देखिन्छन् । अमेरिका डब्ल्यूएचओबाट बाहिरिएसँगै यसको रिक्तता कसले पूरा गर्ने भन्ने प्रश्न छ ? कि त अरू कुनै शक्तिराष्ट्रले अगाल्नु पर्याे । यूएनका अरू अंगहरूको सन्दर्भमा पनि यस्तै देखिन्छ । तर युक्रेनको सन्दर्भमा भने अमेरिकाको ठाउँ युरोपले पूरा गर्न खोजेको देखिन्छ ।
शक्ति राष्ट्रहरूको अबको विश्वव्यापी नीति आर्थिक स्वार्थमा मात्रै केन्द्रित रहने हो ?
अर्थतन्त्रलाई मात्रै अंगालेको अवस्था त होइन । अमेरिकी वर्चस्वले अमेरिकी अर्थतन्त्र बलियो बनाएको हो । उनीहरूको बलियो अर्थतन्त्रको आधार नै ज्ञानमाथिको वर्चस्व हो । ट्रम्प व्यापारी भएका कारणले तत्कालको आर्थिक स्वार्थलाई अलि बढी प्राथमिकतामा राखेको जस्तो देखिएको हो । पछिल्लो समय अधिक नाफा वित्तीय क्षेत्र, ग्लोबल टेक्नोलोजी, इनोभेसन आदिले बढी नाफा सिर्जना गरेको अवस्था छ । अमेरिकी ज्ञानकै कारणले त्यहाँको अर्थतन्त्र उचाइमा पुगेको थियो । यदि अमेरिकाको सामरिक बल थिएन भने युक्रेनलाई बोलाएरै खनिज दिनुपर्छ भन्ने अवस्थामा थिएन । त्यसैले आर्थिक स्वार्थले मात्रै विश्वराजनीतिमा आफ्नो प्रभुत्व कामय हुन्छ भन्ने होइन ।
छिमेकी भारत र चीन, युक्रेन, अमेरिकालगायत वर्तमान विश्वराजनीतिमा कुन ठाउँमा छन् ?
भारत कुनै न कुनै रूपमा विश्वको प्राचीन सभ्यता हो । फेरि हिजोको सम्भ्रान्त इतिहासमा पुग्ने आकांक्षा त्यहाँको नेतृत्वले देख्नु स्वाभाविक छ । चिनियाँहरू आर्थिक हिसाबले एक तहमा पुगिसकेको अवस्था छ । फेरि उनीहरू शक्तिको हिसाबले विश्व समुदायले उनीहरूको भनाइ सुन्नैपर्ने ठाउँमा पुगिसकेका छन । युक्रेन युद्ध विशेषगरी युरोपेली युद्ध हो । यसको मूल कारण भनेको युक्रेनको रियर अर्थ मेट्रियल माथिको वर्चस्व कायम गर्न चाहने अमेरिका, रुस र युरोपेलीहरूको स्वार्थ हो । भारत र चीन यो मामिलामा पर्ख र हेर भन्ने ठाउँमा देखिन्छन् । कुनै समय आफ्नो अस्तित्व यी दुई देशले पनि देखाउने छन् । चिनियाँहरू खाली छोडेको ठाउँ पूरा गर्न आफू तयार रहेको सन्देश चाँहि दिइरहेका छन् ।
युरोपेली देश र बेलायत आफै आर्थिक संकटमा छ, युक्रेनलाई सहयोग गर्नसक्ने अवस्था छ र ?
युक्रेन युद्ध युरोपका लागि जति नजिक छ त्यति अमेरिकाबाट टाढा छ । त्यसैले युरोपेलीहरूको चासो बढी हुनु स्वाभाविक हो । अमेरिकाले साथ छोड्ने भएपछि आफूले स्वामित्व लिने युरोपेलीहरूको भनाइ आउनु स्वाभाविक हो । युरोप आर्थिक हिसाबले सही ठाउँमा नभए पनि युक्रेनलाई सहयोग गर्न सक्ने अवस्थामा नभएको भने होइन ।
इजरायल–हमास युद्धमा अमेरिकाको आगामी नीति कस्तो रहन्छ ?
पहिलो त म मध्यपूर्व प्रयोग गर्दिनँ, यो अरब क्षेत्र हो । किन भने युरोपबाट गरिएको नामांकन हो । यो अरब इजरायल हमास युद्घ पनि होइन, इजरायलले प्यालेस्टेनी जनतामाथि गरेको जातीय नरसंहारको एउटा स्वरूप भन्न सकिन्छ । ट्रम्प प्रशासनमा अतिवाद देखिन्छ । २५ लाख जनसंख्यालाई विस्थापित गर्न उनको चाहना आर्थिक स्वार्थमा केन्द्रित छ, यसबाट ट्रम्पमा नश्लीय अतिवाद पराराष्ट्रनीति प्रकट भएको देखिन्छ । उनी व्यावसायिक नाफामा केन्द्रित छन । मान्छे मारेरै भए पनि नाफा कमाउने नीतिका कारण उनमा नवफासिवादी चरित्र देखिन्छ ।
रुस–युक्रेन र इजरायल–प्यालेस्टाइन युद्धबाट एशिया कति प्रभावित छ ?
अब विश्व राजनीतिबाट दक्षिण एशिया दूरीले टाढा देखिए पनि आधारभूत मान्यताबाट पृथक हुन सक्दैन । नेपालको सन्दर्भमा कुरा गर्दा हामी पनि दुई वटै शक्तिशाली राज्यहरूको बीचमा रहँदा त्यो परिस्थिति हामीमा पनि आउन सक्छ । तर वर्तमान युद्ध कसैको हितमा भने छैन ।
बदलिँदो विश्व भू–राजनीतिक अवस्थामा नेपालले कस्तो विदेशनीति अबलम्बन गर्नुपर्छ ?
नेपालको विदेशनीति समग्रमा परिवर्तन नै गर्नुपर्ने अवस्थामा त म देख्दिनँ । राज्यहरूको सन्दर्भमा न अति निकट न अति दूरीको सम्बन्ध आवश्यक रहन्छ । असंलग्न र समदूरीको नीति कायमै राखी व्यवहारमा परिवर्तन आवश्यक छ । नीतिभन्दा पनि व्यवहारलाई परिवर्तन गर्न आवश्यक छ । इजरायल–प्यालेस्टाइन युद्धमा नेपालले आफ्नो मत स्पष्ट गर्नुपर्ने हो तर अहिलेसम्म त्यो भएको छैन । नेपालमा शीर्ष नेतृत्वहरूले पराराष्ट्रनीतिबारे बुझे पनि व्यवहारमा चाहिँ परिवर्तन गर्न सकेको देखिँदैन । परराष्ट्रनीति राजनीतिको एक हिस्सा मात्रै बुझ्दा यो अपूरो हुन्छ । कर्मचारीतन्त्रमा त्यति ठूलो समस्या छैन, राजनीति तहबाट सुधार आवश्यक छ ।
अमेरिकामा ट्रम्प राष्ट्रपति भइसकेपछि आप्रवासी नीतिमाथिको कडाइलाई कसरी लिने ?
आप्रवासनको सन्र्दभमा अमेरिका युरोपको सम्भ्रान्त जीवन हाम्रो जस्ता देशबाट गएका श्रमिकहरूले बनाएको हो । गरिब देशहरूबाट गएका श्रमिकले सस्तो मूल्यमा काम गरेर उनीहरूको जीवनस्तर धानेका छन । अमेरिका वा युरोपले कुनै न कुनै हिसाबले वस्तु वा श्रमिकको माध्यबाट हाम्रो श्रम उपयोग गरेको छ । एउटा स्वयत्त सर्वोच्चता र मतदातालाई रिझाउन ट्रम्पले यस्तो गरिरहेका छन् । अवैध आप्रवासनको डर देखाएर सस्तो श्रम सिर्जना गर्ने योजना हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाैडेल अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रका जानकार हुनुहुन्छ ।