अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री प...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - नेपाल एअरलाइन्सले हङकङ र जापान गरेको चार्टर्ड उडानमा व्यापक अनियमितता भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ ।
एयरलाइन्सको जहाज हङकङ र जापानको लागि चार्टर्ड गर्दा ट्राभल एजेन्सीहरुले यात्रुबाट अस्वाभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको गुनासो आएको भन्दै मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
यो विषयमा जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के आधारमा के कति भाडा लिएको भन्ने सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजक रहेको समितिमा मन्त्रालयका उपसचिव राजन नेपाल, पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य रहेका छन् ।
यस्तै अब जहाज चार्टर्ड गर्न यात्रुको नामावली र भाडादर स्पष्ट खुलाउनुपर्ने भएको छ । चार्टर्ड जहाजमा कमिशनको खेल भएको र यात्रुलाई मर्कामा पारिएको गुनासोपछि मन्त्रालयले यसबारेमा मापदण्ड बनाएको छ ।
मन्त्रालयका अनुसार आउँदा दिनमा विमान चार्टर्ड गर्दा जुन देशको लागि चार्टर्ड गर्न लागिएको हो, यस देशको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्विकृति र यात्रुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिनुपर्नेछ ।
भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य देशमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।