विदेशबाट फर्किएकादेखि विदेशको मोह त्यागेर स्वरोजगार बन्दै बागलुङका युवा

 मंसिर २८, २०७७ आइतबार १८:५:४४ | रासस
unn.prixa.net

बागलुङ – बागलुङको बरेङ गाउँपालिका–२ का नगेन्द्र थापाले केही महिना पहिला गाउँमा नै इन्टरलक इँटा उद्योग सञ्चालनमा ल्याउनुभयो । झण्डै  १५ लाख रुपैयाँ खर्चेर उहाँले सञ्चालन गरेको इँटा उद्योगले उहाँ, उहाँको परिवार र गाउँका केही युवालाईसमेत रोजगारी दिन शुरु गरेको छ ।

देशका ठूला शहर पस्ने वा विदेश जाने गाउँका अन्य युवाको लहडलाई चुनौती दिँदै थापाले सञ्चालन गरेको उद्योगले गाउँको विकासमा टेवा पुर्‍याउने आशा गरिएको छ । निजी लगानीमा सञ्चालनमा आएको उद्योगले दैनिक झण्डै एक लाख रुपैयाँको कारोबार गर्छ । 

कोरोनाको कारण कारण प्रभावित भएका युवालाई रोजगारीसँग जोड्ने भन्दै गाउँपालिकाले केही कार्यक्रमसमेत ल्याएको छ । महिला स्वरोजगार कार्यक्रम, युवालाई स्वरोजगार बनाउने कार्यक्रम र उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ ।

युवाको इच्छाशक्ति र स्थानीय सरकारको तारतम्य मिलाएर बरेङमा युवा उद्यमीहरुको विकास शुरु भएको छ । नगेन्द्र जस्तै बरेङमा कृषि, पशुपालन र साना उद्योगहरुमा पछिल्लो समय युवाहरुको आकर्षण छ ।

बरेङमा आलुखेती राम्रो हुन्छ । अलैँचीको व्यावसायिक खेती यहाँका किसानले शुरु गरेका छन् । जसमा युवाको आकर्षण छ । बाख्रा, भैँसीपालनका लागि बरेङ उत्तम ठाउँ हो । वार्षिक खशी बोका तथा पाडापाडीको बिक्री गरेर गुजारा चलाउनेको सङ्ख्या धेरै रहेको गाउँपालिकाका अध्यक्ष शर्मा बताउनुहुन्छ ।

बरेङमा कृषि, पशुपालन र साना उद्योगहरुमा पछिल्लो समय युवाहरुको आकर्षण छ ।

कहिले कलाकारिता त कहिले पत्रकारिता हुँदै रोजगारीको क्रममा भारतका विभिन्न प्रदेशमा पुग्नुभएका जैमिनी नगरपालिका–७ जैदीका कमल राना यतिबेला माछापालनमा लाग्नुभएको छ । कालिगण्डकीको तिर नजिकै दुई वटा ठूला पोखरी निर्माण गरेर रानाले व्यावसायिक माछापालन थाल्नुभएको हो । ‘मैले नदेखेको रहेछु, अवसर र आम्दानी गाउँमै रहेछ,’ रानाले भन्नुभयो, ‘अबको बाटो उद्यम नै हो ।’ २६ वर्षीय राना जस्तै जैदीका धेरै युवाले पक्षीपालन, माछापालन, बङ्गुरपालन र नगदेबालीको खेतीलाई व्यवसाय बनाएका छन् ।

‘जैदीमा आलु राम्रो फल्छ, तरकारीबालीका लागि उत्तम स्थान हो,’ जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्मा भन्नुहुन्छ, ‘पछिल्लो समय युवाले व्यावसायिक कृषिका कार्यक्रममा समेत चासो राख्न थालेका छन ।’ विदेशबाट फर्किने र गाउँमा पशुपालन, कृषि तथा साना उद्योगमा लाग्नेको सङ्ख्या जैमिनीमा उलेख्य रहेको स्थानीय विद्यालयका शिक्षक नवीन प्रताप जिसी बताउनुहुन्छ ।  

काठेखोला गाउँपालिका–७ रेशका वीरेन्द्र लामिछानेले रोजगारीका लागि लामो समय खाडी मुलुकमा बिताउनुभयो । विदेशको कमाइले घर खर्चमात्रै चल्ने भएपछि झण्डै आठ वर्षको विदेश बसाई टुङ्गो लगाउने माध्यम अहिले बाख्रापालन भएको छ । 

स्थानीय जातको खरिबाख्राका साथै जमुनापारी र उन्नत जातको बाख्रा पालेर पछिल्लो दुई वर्षयता उहाँले राम्रो आम्दानी गर्न थाल्नुभएको छ । बाख्राका अतिरिक्त कुखुरापालनमा पनि उहाँ लाग्नुभएको छ । घरमै परिवारसँग बसेर गरेको व्यवसायले खर्च चल्ने भएपछि विदेशको मोह त्यागेको लामिछाने बताउनुहुन्छ । 

रेशकै गुमान जिसीले पनि बाख्रा, टर्की चरा र कुखुरा पाल्नुभएको छ । जिसी पनि लामो समय विदेश बसेर फर्किनुभएको हो । ‘रगतको पसिना पार्दा नबचेको पैसा अहिले बचाउँछु’, जिसी भन्नुहुन्छ, ‘गर्न सके घरमै रोजगारी छ भन्ने बुझियो ।’ विदेशका दुःख र गाउँको बसाइलाई मूल्याङ्कन गरेर युवाले कमाइमा सम्झौता गर्ने गरेका छन् ।

काठेखोला गाउँपालिकाले उद्यमीका लागि प्रविधि तथा सीपको व्यवस्थापन गर्ने गरेको छ । व्यवसायमा लाग्ने युवाको प्रोत्साहनका लागि मेसिन तथा सामग्री उपलब्ध गराउने गरेको वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केर होस वा विदेशिने प्रक्रियामा लाग्दा देशको माटोको महत्व बुझेर होस बागलुङमा कृषि तथा पशुपालन उद्यम गर्ने युवाको सङ्ख्या धेरै छ । विशेषगरी विदेशबाट फर्केर पशुपालन व्यवसायमा युवा लागेका छन् । 

‘हाम्रो वडामा मात्रै युवाका ४१ ओटा पशुपालन तथा तरकारी उत्पादन फार्म दर्ता भएका छन्,’ लामिछानेले भन्नुभयो, ‘पछिल्लो समय युवा उद्यमीहरुको लगाव उत्साहजनक छ ।’ यहाँ उत्पादन हुने तरकारी तथा फलफूल र पशुजन्य उत्पादनको बजारीकरण सहज रहेकाले युवाको आकर्षण उत्पादनमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केर होस वा विदेशिने प्रक्रियामा लाग्दा देशको माटोको महत्व बुझेर होस बागलुङमा कृषि तथा पशुपालन उद्यम गर्ने युवाको सङ्ख्या धेरै छ । विशेषगरी विदेशबाट फर्केर पशुपालन व्यवसायमा युवा लागेका छन् । 

बागलुङ नगरपालिका–३ हाडेपाखाका गणेश शर्मा अमेरिका सपना चकनाचुर भएपछि गाईभैँसी पालन व्यवसायमा लाग्नुभएको छ । एक वर्ष पहिला अमेरिका जाने भनेर घर छोड्नुभएका गणेश एक महिना हराउनुभयो । २० लाख रुपैयाँ सकेर गाउँ फर्किनुभयो ।

गाउँ फर्केपछि आफ्ना बुबाले परम्परागत रुपमा गर्दै आएको पशुपालन व्यवसाय प्रबर्द्धनमा थप १५ लाख रुपैयाँ खर्चेर गणेशले अमेरिकाको चक्करमा लागेको ऋण उकास्दै हुनुहुन्छ । उहाँको गोठमा १० वटा दुहुँना गाईभैँसी छन् । व्यक्तिगत लगानीमा उहाँले गोठमात्रै भर्नुभएको छैन उपभोक्तालाई शुद्ध दूध पुर्‍याउनुभएको छ । 

बागलुङको गल्कोट नगरपालिका–१ दुदीलाभाटी थलिङका महिलाहरुले समूहमा व्यावसायिक तरकारी खेती थालेका छन् । समूहमा गरेको तरकारीखेतीको आम्दानीले आफ्नो जीवनस्तरमा परिवर्तन आएको उनीहरु बताउँछन् । यहाँका महिलाहरू ‘प्रगति एकीकृत कृषि तथा पशुपालन समूह’ दर्ता तरकारी खेतीमा लागेका हुन् । तरकारी खेतीबाट हुने आम्दानीले आफ्नो व्यक्तिगत र परिवारको खर्च चलाउँदै आएका छन् ।

पछिल्लो समय स्थानीय सरकारलेसमेत कृषि र पशुपालन तथा व्यावसायिक खेतीका लागि अनुदानका कार्यक्रम ल्याएका भएपनि आफूहरु त्यसबाट लाभान्वित हुन नपाएको किसान युवाहरुको गुनासो छ  ।

समूहको विधि र कानूनमा रहेर उनीहरू सामूहिक तरकारीखेतीमा जुटेका हुन् । स्थानीय रुपमै तरकारी उत्पादन गरी आत्मनिर्भर बन्ने उद्देश्यले १५ जना महिला संगठित भएका छन् ।

आफ्नो जग्गा नभएका महिलासमेत समूहमा आबद्ध छन् । सबैका लागि मान्य हुनेगरी उनीहरूले झमबहादुर खत्री, युवराज सुवेदी र बलबहादुर खत्रीको जग्गा भाडामा लिएर तरकारी उत्पादनको क्षेत्रमा अगाडि बढेको समूहका अध्यक्ष हरिमाया सुवेदीले बताउनुभयो । 

बागलुङमा वैदेशिक रोजगारीबाट फर्केका हुन् वा विदेशको मोह त्यागेर कृषि र उद्यममा लागेका युवा धेरैले व्यावसायिक बाटो समातेका छन् । पछिल्लो समय स्थानीय सरकारलेसमेत कृषि र पशुपालन तथा व्यावसायिक खेतीका लागि अनुदानका कार्यक्रम ल्याएका भएपनि आफूहरु त्यसबाट लाभान्वित हुन नपाएको किसान युवाहरुको गुनासो छ  ।

‘खोइ कता हो वडा र नगरले पनि अनुदान बाँड्छन् भन्ने सुनेको छु तर हामिलाई त केही थाहा हुँदैन’, व्यावसायिक गाईपाला गर्दै आउनुभएका जैमिनी–१ कुश्मीशेराका किसान गुरुदत्त आचार्यले भन्नुभयो, ‘जीविका नै चलाउनु छ, आशा गरेर थालेको उद्यम होइन, दिए राम्रै हुन्थ्यो, नभए नी गुनासो छैन ।’

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया