बजेट तर्जुमा मार्गदर्शन : ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ ।
आइतबार पेरिसडाँडामा रहेकाे केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरूलाई मन्त्री पद त्याग गरी सरकारबाट फिर्ता हुन केन्द्रीय कार्यालय बैठकले गरेको निर्णयलाई नै सदर गर्दै फिर्ता हुन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले नेकपा माओवादी केन्द्र छाडेका नेताहरूलाई पार्टी परित्याग गरेको हो/हाेइन स्पष्टीकरण दिन पनि भनेको छ ।
प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हिजो हाम्रो पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरेअनुसार आजको केन्द्रीय कमिटीको बैठकले हाम्रो पार्टीको तर्फबाट अहिलेसम्म पनि मन्त्री पदमै रहनुभएका कमरेडहरूलाई मन्त्री पद त्याग गरेर सरकारबाट फिर्ता हुने कुरालाई केन्द्रीय कमिटीले पनि औपचारिक रूपमा निर्णय गरेको छ । त्यसैगरी हिजैको केन्द्रीय कार्यालयको प्रस्तावअनुसार हाम्रो पार्टीका कतिपय केन्द्रीय कमिटी र विभिन्न कमिटीका सदस्यहरू अर्को पार्टीमा रहनुभएको सार्वजनिक रूपमा सूचना प्राप्त भएको छ । त्यस आधारमा हाम्रो माओवादी केन्द्र परित्याग गरेको हो/होइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्नका लागि र आफ्नो स्थिति स्पष्ट गर्नका लागि स्पष्टीकरण माग्ने कार्यालयको प्रस्तावलाई पनि आजको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’
बैठकमा अध्यक्ष दाहालले वर्तमान राजनीतिक परिस्थिति र आउँदा दिनको कार्यभारको सम्बन्धमा रिर्पोटिङ गर्नुका साथै नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको मर्ममाथि कसरी प्रहार भयो र आउँदा दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा मन्तव्य रिर्पोटिङ गर्नुभएको थियो ।
प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘अध्यक्ष कमरेड प्रचण्डले संक्षिप्तमा अहिलेको वर्तमान राजनीतिक परिस्थिति, कम्युनिस्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, हाम्रो पार्टीका सामु देखा परेका चुनौती र नेपाली कम्युनिस्ट आन्दोलनको सम्बन्धमा देखा परेको चुनौती र भावी हाम्रो कार्यभार बारेमा संक्षिप्तमा रिर्पोटिङ गर्नुभयो र दिशा निर्देशित गर्नुभयो । त्यसपछि केन्द्रकै तर्फबाट रिर्पोटिङ गर्ने क्रममा पार्टीको केन्द्रको तर्फबाट रिर्पोटिङ मैले पनि गरेँ । हाम्रो पार्टी एकताको उद्देश्य, औचित्य र मर्म के थियो ? पार्टी एकताको उद्देश्य र मर्ममाथि कसरी प्रहार भयो ? त्यसपछि पार्टीमाथि र नेपालको अग्रगामी परिवर्तनमाथि कसरी आक्रमण भयो ? र हामीले अहिले फेरि नेपालको राजनीतिलाई ऐतिहासिक उपलब्धिको रक्षा गर्दै अगाडि बढ्ने दिशातिर र पार्टीलाई फेरि क्रान्तिकारी पार्टी निर्माणको दिशातिर अगाडि बढ्ने कार्यभारको बारेमा चर्चा गर्ने काम गरियो ।’
बैठकमा पार्टी सङ्गठनको अवस्थाको सम्बन्धमा १ नम्बर प्रदेशबाट सहइन्चार्ज मायाप्रसाद काफ्ले, २ नम्बरबाट सहइन्चार्ज विश्वनाथ शाह, वाग्मती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशबाट अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट अध्यक्ष ओनसरी घर्ती मगर, कर्णाली प्रदेशबाट सचिव मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट सचिव नेपबहादुर चौधरीले रिपोर्टिङ गर्नुभएको थियो भने उपत्यका विशेष कमिटीको तर्फबाट इन्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटीको तर्फबाट अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटीको तर्फबाट अध्यक्ष युवराज चौलागाईँले रिर्पोटिङ गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
केन्द्रीय कमिटीको बैठक सोमवार बिहान ११ बजे फेरि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । सोमवारको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूले वर्तमान सन्दर्भमा आफ्नो विचार राख्ने, सङ्गठनात्मक काम, पार्टीको विधान परिमार्जन र पार्टीको अनुशासन, पाँचौँ राष्ट्रिय भेला गर्ने लगायतका कार्यसूचीमा रहेको विषयमा छलफल गरिने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।