धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेको माधव–झलनाथ समूहले यही बुधवार र बिहीवार (भोली र पर्सि) हुने कार्यकर्ता भेला सफल हुने जनाएको छ । कार्यकर्ता भेलाबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णय र पार्टीलाई गुटमा सीमित गर्ने क्रियाकलापको विरुद्ध रणनीति बनाउन भोलि र पर्सि कार्यकर्ता भेला हुन लागेको जानकारी दिनुभयो ।
गएकाे फागुन २३ गते सर्वोच्च अदालतले एमाले पार्टी बिउँताए पनि ओलीले त्यसलाई कार्यान्वयन गर्न आनाकानी गरेको माधव–झलनाथ समूहले आरोप लगाएको छ । नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनर्स्थापना गर्नुपर्नेमा आफूखुसी बैठकका नाममा गुटका गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेकाे माधव–झलनाथ समूहको निष्कर्ष छ ।
‘नेकपा (एमाले) पूर्ववत् अवस्थामा फर्किनु भनेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनर्स्थापना हो भन्ने कुरा स्पष्ट छ । यति हुँदा हुँदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेका छन् । यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौँ र राष्ट्रिय कार्यकर्ता भेलामार्फत हामी यो सन्देश आधारभूत तहसम्म पुर्याउन चाहन्छौँ’, विज्ञप्तीमा भनिएको छ ।
केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यस अवैधानिक र पार्टी एकता विरोधी कदमलाई सम्पूर्ण रूपमा खारेज गरी पार्टीको विधान बमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गरेर पार्टीलाई सुरु गर्नुपर्छ भन्नेमा आफूहरू दृढ रहेको माधव–झलनाथ समूहले जनाएको छ ।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, केन्द्रीय कमिटीका पूर्वसदस्यहरू, सङ्घ तथा प्रदेशका सांसदहरू, पूर्वसांसदहरू, जिल्ला कमिटीका पदाधिकारीहरू, सम्पर्क कमिटी र मञ्चका सदस्यहरूकाे सहभागिता रहनेछ ।
साथै गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरू, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरू, जनसङ्गठन तथा पेसागत सङ्गठनका केन्द्रीय सचिवालयका सदस्यहरूका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहको सहभागिता रहने जनाइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।