‘वामपन्थी सरकारकाे निरन्तरताका लागि प्रचण्डसँग छलफल गर्नुस् भनेर ‌ओलीलाई आग्रह गरेँ’

 चैत ३, २०७७ मंगलबार १७:४८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेकाे एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी एमालेकाे एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको जानकारी दिनुभएको हो । 

प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तर्विराेध समाधान गराउन भूमिका खेल्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अब तपाईँको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थीहरू नआउने सरकार त्यसरी नचलाउनुस् । हामी फेरि पनि वामपन्थी सरकार दिन चाहान्छौँ भनेर आह्वान गर्नुस् । म नेपालका सबै कम्युनिस्ट पार्टीलाई हामीसँग वार्तामा आउन आग्रह गर्छु । सँगै बसौँ र देशलाई अगाडि बढाउनका लागि हातेमालो गरौँ भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरि पनि मुख्य शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुनेछन् र तपाईँले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस् भनेर अध्यक्ष ओलीलाई भनेँ ।’

नेता गाैतमले नयाँ शिराबाट अगाडि बढ्न आग्रह गरिएकाे भन्दै भन्नुभयाे, ‘आज अगाडि गरिएका हाम्रा उचित, अनुचित व्यवहारहरू, राम्रा व्यवहारहरू कायम राखे पनि हुन्छ । शिक्षा लिए पनि हुन्छ । नराम्रा अनुचित जति व्यवहारहरू भए ती सबै एउटा बेरियर, त्यसलाई कायम गरौँ । बटमलाइन एउटा निश्चित गरौँ, त्योभन्दा अगाडिका विषयलाई आज हामी नउठाऔँ । अगाडि बढाऔँ भनेर त्यहाँ कुरा गर्नुस् । एमालेभित्रै अहिले समस्या देखियो । मुख्य व्यक्तिहरूलाई बोलाएर तपाईँले अनुरोध गर्नुस् । अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस् र हामी फेरि एकताबद्ध भएर जान्छौँ । हामीले गर्नुपर्ने काम धेरै छन् र त्यो राष्ट्रिय जिम्मेवारी नेकपा एमालेको हो । त्यो एमालेको जिम्मेवारी हामीले एकताबद्ध गरेर मात्रै पूरा गर्न सक्छौँ त्यही भएर तपाईँले यो आह्वान गर्नुस्, सुरु गर्नुस् भनेर प्रधानमन्त्रीलाई मैले अनुरोध गरेँ ।’

संयोजक गौतमले माधव नेपाल समूहले छुट्टै गतिविधि सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधान विपरीत निर्णय फिर्ता गर्नुपर्ने बताउनुभयो ।

नेपालका सबै कम्युनिस्ट पार्टीलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडि बढेको गौतमको भनाइ छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया