ओलीलाई आलाेचना–सुझाव मन पर्दैन, सबै समस्याकाे जड उनै हुन् : नेता नेपाल

 चैत ४, २०७७ बुधबार १६:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभएको छ । बुधवार आफ्नाे समूहले ललितपुरकाे सानेपामा आयाेजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि नभइ एकताबद्ध बनाउन राष्ट्रिय भेला गरिएको बताउनुभएको हो । 

उहाँले कम्युनिस्ट आन्दोलनको रक्षा गरी नयाँ उचाइमा पुर्‍याउन रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी गर्नुभयो । नेता नेपालले भन्नुभयो, ‘हामीले जुन बाटो समातेका छौँ । जुन हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ । त्यो ध्वंस गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिस्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका लागि हो । त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’

नेता नेपालले नेकपा एमालेभित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली भएको दाबी गर्नुभयो । केपी ओलीको अहङ्कार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला नागरिककाे बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भए पनि जबजको हिमायतीको रूपमा प्रस्तुत गरिरहेको उहाँले बताउनुभयो । ओलीले मदन भण्डारीको विरासत बोकेको भनी नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहङ्कार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना, उहाँमा रहेको मूल पक्ष इमानदार कार्यकर्ता उहाँलाई चाहिएको छैन । उहाँलाई आलोचना मन पर्दैन । उहाँलाई सुझाव मन पर्दैन । त्यस हुनाले यी सबै चिजले समस्या खडा गर्‍याे । हामीले भनेको कुरा के हो भने पार्टी एकतालाई तपाईँले स्वार्थसिद्धि साधन बनाउनुभयो, त्यो काम नगर्नुस् । पार्टी र कार्यदिशाको उल्लङ्घन गर्ने काम गर्नुभयो, त्यो पनि काम नगर्नुस् । जबजलाई तपाईँले थातीमा राख्नुभयो । जबज सिध्याउने काम तपाईँले गर्नुभयो । तपाईँले समाजवाद उन्मुख नागरिककाे जनवाद मान्नुभयो तर नागरिककाे बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनुभएन । खुसुक्क हटाउनुभयो । अनि हामीलाई तपाईँले त्यो थोपर्ने काम गर्नुभो । आज तपाईँ नागरिककाे बहुदलीय जनवादको बडो हिमायती भएर आफूलाई प्रस्तुत गर्नुहुन्छ । तपाईँ आज आएर मदन भण्डारीको विरासत हामीले थामेका छौँ भनेर नक्कली कुरा गर्न खोज्नुभाछ । यस्ता भ्रममा तपाईँहरू कोही नपर्नु होला ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीको सेवा मात्रै गरेको आरोप पनि लगाउनुभयो । ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको पनि उहाँको भनाइ छ । ओलीमा नेकपा एमालेको नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि सुरु देखि नै गुटगत प्रवृत्ति मात्रै भएको नेता नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विधि, पद्धतिको सधैँ उल्लङ्घन गर्नुभयो । सङ्गठनात्मक सिद्धान्तको सधै उल्लङ्घन गर्नुभयो । पार्टीको निर्णय र सहमतिको पालना गर्नुभएन । त्यसको उल्लङ्घन गर्नुभयो । सहमतिको सधैँ रटान लगाउने तर स्वेच्छाचारी व्यवहार गर्दै आउनुभयो । अनि जबजको नारा लगाउँदै निरङ्कुश प्रवृत्ति देखाउनुभयो र जबजको कुरा गर्ने, राष्ट्रिय पुँजीको विकासको गफ चाहिँ गर्ने तर दलाल पुँजीवादको सेवा गर्नुभयो । विदेशी तत्त्वको सेवा मात्रै गर्नुभयो । पार्टीको लोकप्रियता कामलाई आफ्नो एकल लोकप्रियता र बहादुरीको रूपमा बुझ्नुभयो । आफ्नो गल्तीको दोष अरूलाई थोपर्ने सधैँभरि प्रयास गर्नुभयो । सधैँभरि पूर्वाग्रही एवम् पक्षपातपूर्ण व्यवहार गर्नुभयो र असहमतप्रति निषेधात्मक व्यवहार गर्नुभयो । तपाईँ एकताको कहिल्यै पनि पक्षपाती हुनुभएन । झुट र अपव्याख्याको खेती गर्नुभयो सधैँभरि । नेताहरूलाई लडाउने भिडाउने काममा, एक अर्कामा भ्रम पैदा गराउने काममा यही काममा जुटिरहनुभयो । सरकारी ओहोदा र स्रोत साधनको चरम दुरुपयोग गर्नुभयो । प्रधानमन्त्रीको कुर्सी बचाउनका लागि संविधानलाई नै उहाँले अपव्याख्या गर्नुभयो र त्यसलाई समाप्त पार्ने कोसिस गर्नुभयो । पार्टी निर्णय र सहमति भएकाहरूको पनि विपरीत काम गर्न थाल्नुभयो । यस अर्थमा उहाँमा सुरुदेखि गुट सञ्चालन गर्ने गुटगत प्रवृत्ति भयो । उहाँमा समाजवादको गन्तव्यमा जाने कुनै चिन्तन देखिँदैन ।’

नेता नेपालले आफूहरूको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको लडाइँ भएको जिकिर गर्नुभयो । आफूहरूको लडाइँ कस्तो पार्टी बनाउने भन्ने विषयमा रहेको भन्दै इमानदारिताको अग्निपरीक्षा उत्तीर्ण गर्न तयार रहेको नेता नेपालले बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘यो लडाइँ पदको लडाइँ होइन । यो सिद्धान्तको लडाइँ हो । यो नीतिको लडाइँ हो । यो विधिको लडाइँ हो । यो पार्टी निर्माणसँग जोडिएको लडाइँ हो । कस्तो पार्टी निर्माण गर्ने विषयसँग जोडिएको लडाइँ हो । त्यस हुनाले विचारसँग जोडिएको छ, उद्देश्यसँग जोडिएको छ, लक्ष्यसँग जोडिएको छ । यो इमानदारीसँग पनि जोडिएको छ । यो आन्दोलनको निष्ठासँग पनि जोडिएको छ । यी सबैसँग जोडिएको हुनाले यसको अग्निपरीक्षा हुनेछ । त्यो अग्निपरीक्षामा उत्तीर्ण हुन हामी तयार छौँ । अरूलाई पनि चुनौती दिन्छौँ, यदि कम्युनिस्ट आन्दोलन अगाडि बढाउन चाहानुहुन्छ भने बताउनोस् कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ ?’

प्रधानमन्त्री ओलीले आधा–आधा समय सरकार चलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर सहमतिको उल्लङ्घन गरेको नेता नेपालको भनाइ छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पूर्ववत् सङ्गठनात्मक संरचना र वैचारिक, राजनीतिक मान्यता अनुरूप चलाउनुपर्नेमा नेता नेपालको जोड छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया