‘एमालेलाई एक बनाउन ओलीकाे भूमिका हुनुपर्छ’

 चैत ५, २०७७ बिहीबार १५:२५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेकाे माधव नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेकपा एमालेकाे माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेका नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई बलियाे बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताउनुभयो । भेलाले कम्युनिस्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओलीलगायत आम नेता, कार्यकर्तालाई आह्वान गर्ने उहाँको भनाइ छ । वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफूहरूको जोड रहेको पनि उहाँले बताउनुभयो ।

नेकपा एमालेका नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताउनुभयो । नेतृत्वले अझै अरू गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उहाँको भनाइ छ ।

नेकपा एमालेका नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरूसहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेकी नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीवारको संसदीय दलको बैठक राखेको बताउनुभयो । नेकपा एमालेलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उहाँको भनाइ छ ।

नेकपा एमालेका नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छाडेको आरोप लगाउनुभयो । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उहाँको भनाइ छ । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरू पनि गल्ती सच्याउन तयार रहेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया