सिन्धुपाल्चोक बाढी अपडेट : एक जनाको शव भेटियो, विस्थापितहरुले सामुदायिक भवन र विद्यालयमा रात बिताए

 असार ३, २०७८ बिहीबार ६:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुपाल्चोकमा बाढीमा हराइरहेका २० जनामध्ये एक जनाको शव भेटिएको छ । सम्पर्कविहीन भएका एक जना चिनियाँ नागरिकको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । यस्तै चार जना धुलिखेलबाट सम्पर्कमा आएकाले उनीहरु बाढीमा परेर हराएका हुन् या होइनन् भनेर सोधपुछ भइरहेको उहाँले बताउनुभयो ।

बाढीमा परेर घाइते भएकाको हिजै उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । बाढीका कारण मेलम्ची नगरपालिकाका  ६ सय र हेलम्बु गाउँपालिकाका झण्डै ३ सय जना विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।

नेपाल रेडक्रसको सिन्धुपाल्चोक शाखाले हिजो उनीहरुलाई खानेकुराको व्यवस्था मिलाएको थियो । आज भने वाग्मती प्रदेश सरकारले पठाएको एक ट्रक खाद्यान्न वितरण गरिने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । यस्तै, त्यहाँका अन्य विभिन्न गैरसरकारी सङ्घसंस्थाहरुले पनि राहत उपलब्ध गराइरहेका उहाँले बताउनुभयो ।

बाढीले के – कति क्षति गर्यो भन्नेबारे एकिन विवरण आएको छैन । हिजो उद्धारलाई जोड दिइएको थियो आजदेखि भने क्षतिको विवरण सङ्कलन गरिने पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा हिजो बेलुकीदेखि आइरहेको बाढीका कारण मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ ।

मेलम्ची र इन्द्रावती खोलामा बाढी आउँदा बस्तीहरू डुबानमा पर्नुका साथै घर तथा पुललगायत बगाएको छ । प्रहरीका अनुसार दुई पक्की मोटरेबलसहित आधा दर्जन झोलुङ्गे पुल र घर बगेको विवरण सङ्कलन भएको छ । मेलम्चीले झन्डै एक दर्जन ट्राउट माछा फर्म, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटी पार्कलगायत बगाएको छ । पहिरोले मेलम्ची नदी थुनिएको र त्यो बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुबाउने गरी बाढी आएको पाइएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया