मेलम्चीका साढे चार सयभन्दा धेरै बाढी विस्थापित अस्थायी बासस्थानमा

 असार ४, २०७८ शुक्रबार ८:१७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीले विस्थापित बनाएकाहरुलाई मेलम्ची नगरपालिकाले खानाको व्यवस्था गरेको छ । मङ्गलवार राति आएको बाढीले विस्थापित भएकाहरुलाई समूह बनाएर विद्यालय भवन, सैनिक ब्यारेक तथा खाली जग्गामा पाल टाँगेर खाना खुवाउने व्यवस्था गरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।

अहिले साँढे चार सय जनाभन्दा धेरैले नगरपालिकाले सञ्चालन गरेको मेसमा खाना खाइरहेको उहाँले बताउनुभयो । मेलम्ची बजारका ७० भन्दा धेरै घर बाढीले बगाएको वा हिलोमा पुरिएका छन् । ती घरमा व्यवसाय गर्नेहरु तथा साना छाप्रा बनाएर व्यवसाय गर्नेहरु थुप्रै विस्थापित भएका र लगत सङ्कलनको काम भइरहेको मेयर अर्यालले बताउनुभयो ।

विस्थापितहरु घर फर्कन सक्ने अवस्था नरहेकाले नगरपालिकाले अझै लामो समय खाना खुवाएर अस्थायी बासस्थानमा राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । विस्थापितमध्ये धेरैजसोलाई नगरपालिकाले अस्थायी बसोबासको व्यवस्था गरेको छ भने केही खाना खाएर आफन्तको घर तथा आफूहरुले बनाएका अस्थायी संरचनामा बस्न जाने गरेका छन् ।

आज मौसम केही सफा भएकाले लगत सङ्कलन तथा राहतका काममा केही सहजता भएको मेयर अर्यालले बताउनुभयो । बाढीले मेलम्ची र हेलम्बुमा गरी १० वटा झोलुङ्गे पुल, ६ वटा पक्की पुल र सात वटा ट्राउट माछा फार्म बगाएको छ । मेलम्ची खानेपानी आयोजना र निर्माणाधीन मुनलाइन हाइड्रोपावरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

व्यक्तिका घर तथा व्यवसाय तथा बालीनालीमा भएको क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया