विश्वप्रकाश शर्माकाे प्रस्ताव : प्रधानमन्त्री दुई पटक र सांसद चार पटकभन्दा नबनाैँ

 असोज ३, २०७८ आइतबार १६:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटे

झापा – नेपाली कांग्रेसको १४ औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवम् पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज आइतवार गृह जिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ ।

बिर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आज आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमानदारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताउनुभयो ।  

‘हामीसहित अग्रज पुस्ताले बलिदान दिएर देशमा राजनीतिक परिवर्तन ल्यायो’, उहाँले भन्नुभयो, ‘त्यतिले मात्र पुगेन, अब राजनीतिमा परिवर्तन ल्याउने कार्यको नेतृत्व गर्न मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ ।’

उहाँले वीपी कोइरालाको जन्मजयन्तीको अवसरमा उहाँ जेल बस्नुभएको सुन्दरीजलमा गएर उम्मेदवारी घोषणा गरेको र समाजवादी नेता सिके प्रसाईँ र सङ्घर्षशील नेता तुर्सा हेमरमले वीपीको विचारमा चिन्तन र मलजल गरेको गृह जिल्ला झापामा आएर चुनावी अभियान थालेको बताउनुभयो ।

नेता शर्माले २४ बुँदामा आफ्नो राजनीतिक अवधारणा प्रस्तुत गर्नुभएको छ । त्यस अवधारणामा देशको समृद्धिको खाका, परराष्ट्र नीति, निर्वाचन प्रणाली, संविधानका त्रुटिको सम्बोधन, शासकीय हैसियतमा जानेको कार्याविधिलगायतका महत्त्वपूर्ण विषयमा विभिन्न प्रस्ताव गरिएको छ ।

उहाँले देशको राष्ट्रपति पदमा एक पटक, प्रधानमन्त्री पदमा दुई पटक र विधायकमा चार पटक मात्र निर्वाचित हुन पाउने संवैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । यो अवधारणा लागू भएमा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व गर्ने अवसर स्वतः पाउने उहाँले बताउनुभयो ।  

सात सालदेखि अहिलेसम्म आउँदा देशमा ठूला राजनीतिक क्रान्ति गर्न नेपालका राजनीतिक दल सक्षम बनेको उल्लेख गर्दै उहाँले नेता र दलहरूको आचरण र व्यवहारमा लोकतान्त्रिक परिवर्तन आएको अनुभूति आमनागरिकले गर्न नपाएको गुनासो गर्नुभयो ।

सत्तामा जुन दल गए पनि देश सबैको साझा भएको हुँदा देशको राजनीति असल संस्कारयुक्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले लामो अवधि जेलनेल भोगेका र प्रधानमन्त्री भइसकेका दलका नेता अलि कति आन्तरिक कलह हुनासाथ सहयोद्धामाथि नै निकृष्ट गालीगलौजमा उत्रिने गरेको टिप्पणी गर्दै उहाँले केही नेताको यस्तै कमजोरीलाई औल्याएर लोकतन्त्र नचाहने शक्ति गणतन्त्र असफल भएको गलत अफवाह फैलाउन उद्यत रहेको बताउनुभयो ।

देशको रूपान्तरण गर्न राम्रो नीति भएको राजनीतिक दल चाहिएजस्तै नेपाली कांग्रेसभित्र पनि सङ्लो र दूरदर्शी भावना बोकेको नेतृत्व आवश्यक भएको भन्दै नेता शर्माले आउँदाे महाधिवेशनमा मेचीदेखि महाकाली र प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताको शुभेच्छा र मत पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया