पुष्पलाल, मनमाेहन, मदन भण्डारीजस्ता नेताहरूकाे प्रेरणा लिएर पार्टी अघि बढ्छ : नेता नेपाल

 असोज ७, २०७८ बिहीबार १४:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात् गर्न चाहेको बताउनुभएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादकाे मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

पार्टी निकट युवा सङ्घ नेपालले आज बिहीवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने पनि बताउनुभयो । अध्यक्ष नेपालले माओ, होची मिन्हजस्ता नेताहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवादलाई हामी आत्मसात् गर्न चाहन्छौँ र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौँ । विश्वका विभिन्न देशमा कम्युनिस्ट पार्टीहरूमा एकसे एक नेताहरूको उदय भएको छ र उहाँहरूको महत्त्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिस्ट आन्दोलन निरन्तर रूपमा अगाडि बढेको छ । चीनमा माओजस्ता नेताहरू, देङसेवापिङ जस्ता नेताहरू जन्मे । त्यसैगरी भियतनाममा होची मिन्हलगायतका नेताहरू जन्मे र कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाए । हामीकहाँ पनि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरू जन्मिए । तुलसीलालजस्ता योद्धाहरू देखा परे । ती सबै योद्धाप्रति हामी गौरव बोध गर्दछौँ । उहाँहरूको जीवनबाट प्रेरणा लिएर हामी अघि बढ्छौँ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबित्तिकै युवाहरूलाई रोजगारी दिने कामलाई जोड दिने बताउनुभयो । उहाँले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफू निकट पार्टीका युवा सङ्घका नेता तथा कार्यकर्तालाई सचेत पनि गराउनुभयो । अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरूले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीका युवाहरूले कृषि फार्म, माछा पालन, तरकारी खेती, फलफूल खेतीलगायतका उत्पादनशील क्षेत्रको काममा लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया