बलात्कारकाे प्रयासपछि बेहाेश भएकी श्रेयाको ढुंगाले हानेर हत्या

 असोज १०, २०७५ बुधबार १६:३६:४२ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरा २२, पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारको प्रयासमा हत्या भएको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरी बालिका हत्या गर्ने २७ वर्षीय कुसुम पौडललाई सार्वजनिक गर्दै पौडेलले बलात्कारको प्रयास गर्दा बालिकाको ज्यान गएको जानकारी दिएको हो । 

अघिल्लो दिनदेखि नै साथीहरुसँग मिलेर जाँडरक्सी खाएर बसेका कुसुमले मंगलबार साँझ साढे ५ बजेतिर बिस्कुट किन्न पसल गएकी श्रेयालाई चकलेट खाउ भनी ५ रुपैयाँ दिएको र फेरि अलि तल पुगेपछि १० रुपैयाँ दिन्छु भनि बोलाएर जबर्जस्तीको प्रयास गरेका थिए । 

जबजस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गर्दै चिच्याउन थालेपछि झाडीमा धकेलेर दुवै हातले घाँटी थिचेको पौडेलले बयान दिएको प्रहरीले जनाएको छ । 
बालिका बेहोस भएपछि ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । 

कास्की प्रहरीले घटनाको २४ घण्टाभित्रै सोमबार राति साढे ८ बजेतिर पौडेललाई पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई कानुन अनुसार कार्बाही हुने कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताउनुभयो । 

सोमबार साँझ ६ बजे घरदेखि ५ मिनेटको दूरीमा पर्ने पसलमा ५ रुपैयाँ बोकेर बिस्कुट लिन गएकी श्रेया मंगलबार बिहान ८ बजे घर र पसलबीचको कोदीको झाडीमा मृत भेटिएकी थिईन् । बालिकाको शव रगताम्मे अवस्थामा भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेकोमा कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो ।

त्यसैले प्रहरीले छिमेकी नै संलग्न भएको निचोडमा पुगेर खोजी तीव्र पारेको थियो । घटनास्थलबाट श्रेयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ ।

मामाघर नै बसेर स्थानीय लीला आधारभूत माविमा ३ कक्षामा पढ्ने श्रेया मंगलबार स्कुलबाट आएपछि हजुरआमासँग ५ रुपैयाँ मागेर पसल गएकी थिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गएपछि पसल हिँडेकी श्रेया घाँस काटेर घर आउँदा नदेखेपछि हजुरआमा, मामा लगायत छिमेकीले खोजी गरेका थिए । 

झाडीमा माथिको कपडा घाँटीसम्म सोहोरिएको, तल घुँडामुनि सुरुवाल झरेको अर्धनग्न अवस्थामा भेटिएकी श्रेयाको बलात्कारपछि नै हत्या भएको भन्दै स्थानीयले मंगलबार नै प्रहरीसमक्ष दोषीलाई कार्बाही गर्नुपर्ने तथा घटनामा संलग्नलाई ढाकछोप नगर्न अनुरोध गरेका थिए ।

कञ्चनपुरको जस्तो घटना दोहोरिने भन्दै शव पोखरा झार्न नदिएका स्थानीयले चिनेकै चिकित्सक समावेश गरी स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याउन दिएका थिए । चिकित्सकले बलात्कार भएको घटनास्थलमै स्थानीयलाई बताएका थिए । पोष्टमार्टम रिर्पोट भने आउन बाँकी नै छ । 

श्रेयाकी आमा बेली विक बिरामी छन् । लामो समय अस्पताल बसेकी बेली पूर्ण रुपमा स्वस्थ्य नहुँदै फेरि अर्काे बज्रपात बेहोर्नु परेको छ ।

श्रेयाका आमाछोरीलाई छोडेर कान्छी श्रीमती भित्र्याएका श्रेयाका बाबुले उनीहरुलाई वास्ता गर्न छोडेको धेरै भइसकेको छ । श्रीमानको हेपाई सहन नसकेर बेलीले छोरी श्रेयालाई साथमै लिएर माइत बस्दै आएकी थिइन् ।

यसैबीच श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुससहित विरोध जनाएका छन् । पुम्दीभुम्दीको कोदीबाट निस्किएको जुलुुुस जिल्ला प्रहरी कार्यालय कास्की आइपुगेको थियो ।

उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने महिला हिंसा अन्त्यका लागि दवावमुलक नाराबाजी गरेका छन् । 

साथै हत्यारा उम्कन नदिन स्थानीय बासिन्दाले दबाब समूह पनि गठन गरेका छन् । अपराधीलाई कानुनी कठघरामा ल्याउन दबाब दिन बालिकाका ठुलोबुबा मिनबहादुर बिकको संयोजकत्वमा २१ सदस्यीय शान्तिपूर्ण दबाब समूह गठन गरिएको हो ।

समूहमा स्थानीय आमा समूह, क्लब, टोलसुधार समितिका प्रतिनिधि रहेका छन् ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

1 Comments

  • Namita niroula

    Sept. 27, 2018, 3:46 a.m.

    बलात्कारीलाई फाँसीको सजायँ दिनुपर्छ र कानुन बनाउनुपर्छ सजायँ दिने /

  •  0 Reply

तपाईको प्रतिक्रिया