अपराधीलाई कहिल्यै छुट दिनुहुँदैन: देउवा

 जेठ २४, २०७५ बिहीबार १३:५४:४८ | उज्यालो सहकर्मी

भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुने बताउनु भएको छ । 

बिहीबार शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौं स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा बोल्दै उहाँले द्वन्द्वका नाममा भएको हत्याका घट्नामा संलग्नलाई कडा कारबाही हुनु पर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहनु भएका जोन्छेंमाथि द्वन्द्वका नाममा उहाँकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनु हुँदैन ।’

सभापति देउवाले शहिद जोन्छेंले छाडेर गएको काम सफल पार्नु र उहाँले अवलम्बन गरेको बाटोलाई पछ्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली कांग्रेस भित्रको गुटउपगुटको अन्त्य गरी एक ढिक्का बनाएर लैजाने जिम्मेवारी पार्टी सभापति देउवाको भएको भन्दै यसमा पार्टी सभापति अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले शहिद जोन्छेंले प्रजातन्त्र स्थापनमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले नेपाली काँग्रेस कुनै पनि परिस्थितिको सामना गर्दै अगाडि बढ्ने र देशको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहने बताउनुभयो । 
कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका अध्यक्ष एवं प्रदेश नं. ३ का प्रदेश सदस्य रजनी जोन्छे लगायतले शहिद जोन्छेंको योगदानलाई पार्टी र देशले बिर्सन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिष्ठानले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै प्रमाणपत्रहरु प्रदान गरेको थियो । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया