संवैधानिक निकायहरू ‘रिटायर्डहरूकाे क्लब’ जस्ताे भए : सांसद सापकाेटा

 वैशाख ६, २०८० बुधबार १६:९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाका सांसद माधव सापकोटाले संवैधानिक निकायहरूलाई ‘रिटायर्डहरूको क्लबजस्तो’ बनाउन नहुने टिप्पणी गर्नुभएको छ । सांसद सापकोटाले अख्तियार प्रयोग गरेका वा लाभकाे पदमा बसेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुने प्रस्तावसमेत गर्नुभयो ।

बुधवार प्रतिनिधि सभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले त्यस्ता व्यक्तिहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकै कारण देशमा भ्रष्टाचार नियन्त्रणमा कमी आउन नसकेको तर्कसमेत गर्नुभयो । लाभको पदमा नपुगेका, कुनै पनि खालको अख्तियार नपाएका विज्ञहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएमात्रै देशमा विद्यमान भ्रष्टाचारसम्बन्धी समस्या समाधान हुने सांसद सापकोटाको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हाम्रा संवैधानिक निकायहरू रिटायर्डहरूको क्लबजस्तो भएका छन् । त्यहाँ गएर शक्ति प्रदर्शन गर्ने, आराम गर्ने थलोजस्तो भएको छ । अख्तियार प्रयोग गरेका वा लाभकाे पदमा बसेका मानिसहरू अख्तियारमा गएर बस्नु हुँदैन । कुनै पनि पटक लाभको पदमा पुगेका वा अख्तियारी प्रयोग गरेका व्यक्तिहरू संवैधानिक निकायमा जाँदा कुनै न कुनै रूपमा त्यहाँ प्रभावित तुल्याउँछ । लाभको पद नलिएको, अख्तियार प्रयोग नगरेको र विज्ञहरूलाई छानियो भनेमात्रै यी समस्याहरूको हल गर्न सकिन्छ ।’

सांसद सापकोटाले ठूला नेताहरूलाई धारे हात लगाउनेभन्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्ने पनि उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया