सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्षरूपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।
मङ्गलवार सञ्चारकर्मीसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली कांग्रेसले सहयोग गर्ने बताउनुभएको हो । उहाँले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउन नहुने बताउनुभयो । उहाँले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उहाँको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी प्रकरण अगाडि बढाउन पार्टीको पूरा सहयोग हुन्छ । अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्याे । निर्दोष पनि दोषी हुने अवस्था आउनुभएन र दोषी निर्दोष हुने अवस्था पनि आउनुभएन ।’
प्रवक्ता महतले एमाले सचिव टोपबहादुर रायमाझी र खाणको 'केस' फरक रहेको भन्दै एउटैमा जोड्न नमिल्ने धारणा राख्नुभयो । अनुसन्धान चलिरहेको उल्लेख गर्दै उहाँले अनुसन्धानले निकालेको निष्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताउनुभयो ।
प्रवक्ता महतले पार्टीकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । राणा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा 'ट्रायल' गरेर दोषी नबनाउन उहाँले आग्रह गर्नुभयो ।
महतले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै नक्कली भुटानी शरणार्थी प्रकरणकाे निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि पार्टी सभापति शेरबहादुर देउवाले सघाइरहनुभएको बताउनुभयो । घटनामा संलग्नहरू दोषी प्रमाणित भएमा कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।