सङ्घले प्रदेश सरकारलाई अधिकार दिएकोजस्तो गरी ‘ललिपप’ मात्रै देखायाे : पूर्वमुख्यमन्त्री रावल

 जेठ ९, २०८० मंगलबार १४:५८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सङ्घीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाउनुभएको छ ।

मङ्गलवार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री रावलले सङ्घीय सरकारले आफू दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाउनुभएको हो । उहाँले सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएकोजस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गर्नुभयो । उहाँले प्रदेश मातहतमा पर्ने राजस्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालनसमेत सङ्घीय सरकारको नियन्त्रणमा रहेर एकाधिकार जमाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केन्द्र सरकारले राजस्व सङ्कलनका क्षेत्रहरूमा बाँडफाँटमा एकाधिकार गर्‍याे, असमान वितरण प्रणाली लागू गर्‍याे, विकासलाई समातामूलक रूपमा गरेन । भन्सारमा उठेका महसुल केन्द्रमा नै आए अनुदान दिन्छौँ भन्ने केन्द्र सरकारले अधिपत्य कायम राख्न खोज्यो । प्रदेश र सङ्घीय सरकारबीच अधिकारको विषयमा लडाइँ रहेको छ । प्रदेश सरकारलाई अधिकार दियौँ भनेर ललिपप खुवाएजस्तै छ । सङ्घीय सरकार दाता र प्रदेश सरकार भिक्षुकजस्तै भएका कारण दबाब दिन थालिएको हो ।’

पूर्वमुख्यमन्त्री रावलले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरू केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र सङ्घीय सरकारबीच अधिकार बाँडफाँटमा लडाइँ गर्नुपरेको बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्यभित्र छिर्न नपाएको उहाँकाे गुनासाे छ ।

*यो समाचारमा यसअघि पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल हुनुपर्नेमा त्रुटिवश अन्यथा भएकाले क्षमायाचनासहित सच्याएका छौँ – सम्पादकीय

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया