दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ : गगन थापा

 असार १८, २०८० सोमबार १४:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा काठमाण्डाैमा भएको कार्यक्रममा महामन्त्री थापाले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको हो । उहाँले  दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालयमाथि उठ्न नसक्ने बताउनुभयो । उहाँले कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारीलाई विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज संविधान निर्माण भएर सङ्घीय व्यवस्थामा गइसकेपछि पनि शिक्षाको व्यवस्थापन गर्ने आधारभूत कुराबाट हामी चुकेका छौँ । हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ । हाम्रा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरू राजनीतिकरूपमा सचेत छन्, त्यहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ सबै हुन्छ तर दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य गर्नैपर्छ । सङ्घीय शिक्षा ऐनजस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्छ र त्यसमा कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारीलाई विश्वविद्यालयले चिन्दैन भनेर उल्लेख हुनुपर्छ । होइन भने विश्वविद्यालय माथि उठ्न सक्दैन ।’

महामन्त्री थापाले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको भन्दै यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने बताउनुभयो । उहाँले उच्च प्राथमिकतामा राखेर तत्काल सङ्घीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे ध्यानाकर्षण गराउनुभयो । सरकारले विद्यालय शिक्षामा आएको सङ्कटलाई बुझ्न नसकेको थापाकाे भनाइ छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया