अध्यादेश निष्क्रिय भए पनि मिटरब्याज पीडितलाई न्याय दिलाएरै छाड्छाैँ : उपप्रधानमन्त्री श्रेष्ठ

 असार २४, २०८० आइतबार १९:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निष्क्रिय भए पनि मिटरब्याज पीडितलाई न्याय दिलाएरै छाड्ने दाबी गर्नुभएकाे छ ।

आइतवार मिटरब्याज पीडितकाे धर्नास्थल नयाँ बानेश्वरमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले अध्यादेश निष्क्रिय भए पनि संसदमा रहेको भन्दै आयोगमार्फत मिटरब्याज पीडितलाई न्याय दिने काम नरोकिने बताउनुभएकाे हाे । उहाँले सरकारले अध्यादेश आउनुभन्दा अगाडि आयोग बनाएर काम गरिरहेकाले ढुक्क हुन पीडितलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेशको अवधि सकिएको कारणले अध्यादेश निष्क्रिय भएको छ । त्यसैले चिन्तित हुनुभएको होला । तपाईँहरूलाई भन्न चाहन्छु । विधेयक संसदमा छ । अस्वीकार भएको होइन । विधेयक पारित गर्न योग्य छ । न्यायको आन्दोलनलाई कुनै पनि हालतमा पूरा नगरि छोडिने छैन । हामीले अध्यादेश जारी गर्नुभन्दा अगाडि नै मिटरब्याजीलाई छानबिन गरेर पीडितलाई न्याय दिनका निम्ति आयोग बनाएका थियौँ । आयोगको काम रोकिँदैन । तपाईँहरू ढुक्क हुनुस् ।’

उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितले आयोगमा दिएका २५ सय वटा उजुरीमा छानबिन गरेर १५ सय वटा उजुरीमा न्याय दिलाउने गरी पीडितको पक्षमा फैसला भएको बताउनुभयो । उहाँले कतिपय मिटरब्याजीले कब्जा गरेको घर, जमिन पीडितलाई फिर्ता गरिसकिएको बताउनुभयो । मिटरब्याज पीडितको पक्षमा सरकारले धेरै उपलब्धि हासिल गरेको भन्दै हासिल भएको उपलब्धिलाई कसैले पनि रोक्न नसक्ने उहाँले दाबी गर्नुभयो । मिटरब्याजी सामन्ती शोषणको निकृष्ट अवशेष भएको भन्दै सामन्ती शोषणको अवशेषलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको श्रेष्ठकाे भनाइ थियाे ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया