चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
एसईई पास भएपछि विद्यार्थीहरूलाई कुन विषय पढ्ने भन्ने अलमल हुन्छ । विद्यार्थीमात्र होइन, उनीहरूका अभिभावकलाई पनि अन्योल हुन्छ । कतिपय विद्यार्थी साथीभाइको लहलहैमा तथा कतिपय चाहिँ अभिभावक र शिक्षकको दबाबमा उच्च शिक्षा पढ्ने निधो गर्छन् ।
एसईईपछिको शिक्षाले विद्यार्थीको भविष्य निर्धारण गर्छ । विद्यार्थीलाई यो विषय पढ भनेर कर वा दबाब दिनु हुँदैन । कक्षा ११ मा विद्यार्थीले आफ्नाे रुचि र क्षमताअनुसारको विषय पढ्नु पर्छ । विद्यार्थीले विगतमा लगातार राम्रो प्रदर्शन गरेको विषय पढ्दा सफलता मिल्ने सम्भावना पनि बढ्छ । त्यसैले विद्यार्थी आफैँले आफ्नाे भविष्य र लक्ष्यलाई ध्यान दिएर विषय छान्नु पर्छ ।
कुन कुन विषय हुन्छन् ?
कक्षा १० मा जस्तो कक्षा ११ मा सबै विषय पढ्नु पर्दैन । नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन यी अनिवार्य विषयहरू हुन् । यीबाहेक विज्ञान, व्यावस्थापन, शिक्षा, मानविकी मुख्य विषय हुन् ।
डाक्टर, इन्जिनियर, प्यारामेडिकल, नर्सिङलगायत अन्य प्राविधिक क्षेत्रमा रुचि भएकाले विज्ञान विषय पढ्ने हो । विज्ञान पढ्ने निधो गरेकाले अङ्ग्रेजी, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, कम्प्युटर र गणित विषयको अध्ययन गर्नुपर्छ ।
विज्ञान विषय पढेकाले कक्षा १२ पछि जुनसुकै विषय पढ्न मिल्छ । विज्ञान विषय पढ्दा विद्यार्थीको बाैद्धिक क्षमताको विकासमा सहयोग पुग्छ । त्यसैले सक्ने विद्यार्थीले विज्ञान विषय पढ्नु पर्छ ।
अर्थ, व्यवसाय, लेखापाल, व्यावसायिक रणनीतिमा रुचि भएकाले व्यवस्थापन, अर्थ राजनीति, लेखा सिद्धान्त, फाइनान्स, अर्थशास्त्रलगायतका विषय पढ्नु पर्छ ।
व्यवस्थापन पढ्नेले होटल व्यवस्थापन, पर्यटन, यात्रा, कम्प्युटर, गणित, अङ्ग्रेजी, नेपाली, लेखा, अर्थशास्त्र, व्यवसाय अध्यायनजस्ता विषय पढ्नु पर्छ ।
कानुन क्षेत्रमा जाने हो भने संवैधानिक कानुन, कार्यविधि कानुनलगायतका विषय पढ्नु पर्छ ।
यस्तै कला, संस्कृति, शिक्षा, सामाजिक क्रियाकलाप, राजनीतिमा रुचि हुनेले शिक्षा वा मानविकी विषय पढ्न मिल्छ । शिक्षा वा मानविकी पढ्नेले नेपाली, अङ्ग्रेजी, समाजशास्त्र, अर्थशास्त्र, गणित, राजनीतिशास्त्र, मनोविज्ञान, भाषा, पत्रकारितालगायतका विषय पढ्नु पर्छ ।
समाजका गविविधिसँग, सामाजिक कार्य, जलवायुलमा लगाव राख्नेले स्वास्थ्य सेवा, वातावरण विज्ञानसँग सम्बन्धित विषयहरू पढ्नु पर्छ ।
राम्रो विद्यालय कसरी रोज्ने ?
एसईई दिएका धेरै विद्यार्थी प्राय १५ देखि १७ वर्ष उमेरका हुन्छन् । त्यसैले धेरैलाई व्यावहारिक कुरा थाहा हुँदैन । राम्रो विद्यालय छान्दा अभिभावकले नै मार्ग निर्देशन गर्नु पर्छ ।
विद्यालय र विद्यार्थी बस्ने ठाउँ नजिक हुनु पर्छ । विद्यालयको पुरानो नतिजा र पूर्वविद्यार्थीको उपलब्धिबाट विद्यालय कस्तो हो भनेर थाहा पाउन सकिन्छ । विद्यालयको प्रतिष्ठा, पूर्वविद्यार्थीको सफलताजस्ता कुरा बुझेरमात्रै विद्यालयमा भर्ना हुनु पर्छ ।
विद्यालयमा विद्यार्थीको रुचिअनुसारको विषय छ/छैन, शिक्षकको विशेषज्ञता, पाठ्यक्रम र विद्यार्थीलाई उपलब्ध स्रोत साधन र सुविधा छन्/छैनन् भन्ने कुरा बुझ्नु पर्छ । पुस्तकालय, प्रयोगशाला, अनुसन्धान केन्द्र, कम्प्युटर सुविधा र अन्य शैक्षिक स्रोतहरूको बारेमा राम्रोसँग बुझ्नु पर्छ । प्रर्याप्त स्रोतहरूले विद्यार्थीको सिकाइमा अनुभव बढाउने र ज्ञानको व्यावहारिक प्रयोगका लागि अवसरहरू प्रदान गर्न सक्छ ।
विद्यार्थीको आर्थिक क्षमताअनुसारको विद्यालय छान्नु महत्त्वपूर्ण छ । विद्यालयको भर्ना शुल्क, ट्युशन खर्च, अन्य शुल्क र अन्य खर्चहरूको मूल्याङ्कन गर्नु पर्छ । छात्रवृत्ति तथा विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराउने विद्यालयको ट्र्याक रेकर्ड हेर्नु पर्छ ।
अभिभावक र शिक्षकको भूमिका
कोही विद्यार्थी अभिभावको दबाबमा वा साथीभाइको लहलहैमा परेर विषय छान्ने निधो गर्छन् । जसले गर्दा पढाइ छोड्नु पर्ने वा अर्को वर्ष फेरि ११ मै भर्ना हुनु पर्ने बाध्यता हुन सक्छ । गलत निर्णयले विद्यार्थीको भविष्य नै अन्धकार बन्न सक्छ ।
विद्यार्थीलाई सही मार्गदर्शन गर्न अभिभावकसँगै शिक्षक, समुदाय, विज्ञको भूमिका महत्त्वपूर्ण हुन्छ । अभिभावकले विद्यार्थीको इच्छा र रुचि बुझ्नु पर्छ । विद्यार्थीको पढाइ कस्तो छ भन्ने विषयमा शिक्षकसँग जानकारी लिइरहनु पर्छ । उनीहरूको इच्छाबारे साथीहरूसँग सोधपुछ गर्नुपर्छ ।
कम नम्बर ल्याएका विद्यार्थीलाई विकल्प
एसईईमा मध्यम अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या धेरै छ । कम अङ्क ल्याउने विद्यार्थी पनि छन् । धेरै अङ्क ल्याउने विद्यार्थीले रोजेअनुसारको विषय पढ्न पाउँछन् । तर कम अङ्क ल्याउनेलाई चाहेर पनि विज्ञानलगायतका विषय पढ्न समस्या हुन्छ । केही यस्ता विषय पनि छन् जुन कम अङ्क पाएकाले पनि पढ्न सक्छन् ।
१ दशमलव ६ भन्दामाथि जीपीए ल्याएका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन् । यी विद्यार्थीले आफ्नाे इच्छाअनुसार जुनसुकै विषय पढ्न पाउँछन् ।
कम जीपीए पाएका विद्यार्थीले फेरि परीक्षा दिने तयारी गर्नु पर्छ । १ दशमलव ६ भन्दा कम जीपीए पाएका विद्यार्थीले २६ र २७ गते ग्रेडवृद्धि परीक्षा दिन सक्छन् ।
शैक्षिक क्षेत्रमा रुचि नभएकाले प्राविधिक क्षेत्र रोज्न सक्छन् । प्राविधिकतर्फ दैनिक जीवनमा काम लाग्ने धेरै सीप र तालिम दिने विषय छन् । विद्युतीय सीप, आधुनिक कृषि सीप, प्राथमिक स्वास्थ्य सेवा, मेकानिकल सीपलगायतका सीप सिक्न पाइन्छ । यस्तै सीप सिकेर गाउँघरमै राम्रो रोजगारी पाएकाहरू पनि धेरै छन् । सीटीईभीटी, अरू सङ्घ–संस्था र केही पलिकाले पनि यस्तै सीप सिकाउने गरेका छन् । सीप सिकेर व्यावसायिक यात्रासँग प्रत्यक्ष जोडिएकाहरू सफल बनेका छन् ।
(शिक्षाविद् विनय कुसियतसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।