कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – एफएम रेडियोहरूले गीत सङ्गीतका स्रष्टाहरूका लागि आफूहरूले बुझाउने गरेको रोयल्टी वितरणको पारदर्शिता माग गरेका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) र रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) ले साेमवार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५/७६ देखि एफएम रेडियोहरूले तिरिरहेको रोयल्टीको वितरण अपारदर्शी भएको पाइएकाले यसलाई पारदर्शी र वैज्ञानिक बनाउन माग गरेका हुन् ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले रोयल्टी वितरणमा सरकारको कुनै पनि संलग्नता नरहेको र एक गैरसरकारी संस्थाको सदस्य भएका स्रष्टाहरूलाई मात्र रोयल्टी उपलब्ध गराउँदै आइएकाले देशभरका हजारौँ स्रष्टा र सिर्जनाको अवमूल्यन भएकाे हुँदा सङ्कलन र वितरण पारदर्शी नभएसम्म रोयल्टी बुझाउन नसकिने अवस्था आएको बताउनुभयो । देशभरका रेडियोहरू रोयल्टी तिर्न तयार रहेको तर रोयल्टी सङ्कलन वितरणमा राज्यको उपस्थिति अनिवार्य गर्नुका साथै रोयल्टी सङ्कलन र वितरण प्रणाली व्यवस्थित, पारदर्शी र वैज्ञानिक हुनुपर्ने उहाँले बताउनुभयो । स्रष्टा र एफएम रेडियोबीचको सम्बन्ध सधैँ पवित्र र अन्योन्याश्रित रहेको भन्दै यो सम्बन्धलाई केही सीमित व्यक्तिले बिगार्न नसक्ने उहाँको भनाइ छ ।
ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार भट्टराईले विगतमा भएका सहमति कार्यान्वयन नभएको र रोयल्टी वितरणमा केही सीमित व्यक्तिको हालीमुहाली रहेकाले अहिलेकै अवस्थामा रेडियोले रोयल्टी नतिर्ने बताउनुभयो । देशभर हजारौँ स्रष्टा रहेकोमा १९०० स्रष्टालाई मात्र रोयल्टी वितरण गरिनु मान्य नहुने उहाँकाे भनाइ छ ।
रेडियो ब्रोडकास्टर्स फोरमका अध्यक्ष आर के श्रेष्ठले रोयल्टी वितरणमा सिन्डिकेट रहेको र यो नतोडिएसम्म आफूहरूले रोयल्टी नबुझाउने बताउनुभयो । तीन वटै संस्थाले एक गैरसरकारी संस्थालाई रोयल्टी बुझाउन लगाउने र त्यसलाई रेडियोको नवीकरणसँग जोड्ने अवैधानिक काम राज्यले गरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
सरकारकै संलग्नता र सुपरिवेक्षणमा रोयल्टी सङ्कलन वितरण गर्ने व्यवस्था गर्नुपर्ने र यो व्यवस्था नभएसम्म रोयल्टी नबुझाउने उनीहरूको भनाइ छ । केही व्यक्तिले रेडियो सञ्चालकलाई आपत्तिजनक शब्दमा गाली गर्नुका साथै रेडियो स्टेशन नै बन्द गराइदिनेजस्ता धम्की दिएकोमा आपत्ति जनाउँदै यस्ता गतिविधि तत्काल सच्याउन माग पनि उनीहरूले गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।