सीमाक्षेत्रमा भारतीय सुरक्षा फौजको दादागिरी: दर्तावाला नेपाली भूमिमा बाटो बनाउन लाग्दा फर्काइयाे

 मंसिर १८, २०७५ मंगलबार १९:८:८ | दुर्गा उपाध्याय
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर – कञ्चनपुरको नेपाली भूमिमा बाटो बनाउने क्रममा भारतीय सुरक्षा फौजले अवरोध गरेको छ । 

भीमदत्त नगरपालिका–१०, जिमुवामा नेपाली भूमिमा बाटो बनाउने क्रममा मंगलबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको हो ।
भीमदत्त नगरपालिकाले गड्डाचौकीदेखि जिमुवा–ब्रम्हदेव जोड्ने नेपाली भूमिमा सडक बनाउने क्रममा एसएसबिले रोकेको भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

उहाँले बाटो सम्याउनका लागि नगरपालिकाको उपकरण पुगेपछि एसएसबीले दशजगा भन्दै फर्काइदिएको बताउनुभयो ।

‘स्थानीयले आफ्नै दर्ता जग्गामा बाटो खोल्न भनेपछि हामीले बाटो बनाउन सुरु गरेका थियौँ’, वडा अध्यक्ष जोशीले भन्नुभयो ‘तर, काम नै सुरु नहुँदै एसएसबीले डोजर फर्काइदियो ।’

बाटो नहँुदा स्थानीय मार खेपेको बताउँदै दशगजा क्षेत्रबाट १ मिटरको दूरीमा दर्तावाला नेपाली भूमिमा बाटो बनाउन खोज्दा एसएसबिले रोकेको उहाँले बताउनुभयो ।

‘त्यहाँका स्थानीयले दर्तावाला जग्गाबाटै बाटो बनाउन भन्दै नगरपालिकालाई अनुरोध गरेका थिए’, वडा अध्यक्ष जोशीले भन्नुभयो ‘साढे ६ मिटरको त्यो बाटो नगरपालिकाको बाह्य चक्रपथको योजनामा पनि पर्ने भएकाले हामीले निर्माण गर्न खोजेका थियाैँ । तर भारतीय पक्षले रोक्यो ।’

उहाँका अनुसार भारतीय पक्षले दशगजा भनेको जमिनको नेपाली नागरिकसँग जग्गा धनी प्रमाण पुर्जा छ । एसएसबीले दशगजा भन्दा ५० मिटर दूरीमा मात्रै सडक निर्माण गर्नुपर्छ भन्दै रोकेको स्थानीयको भनाई छ । 

सो बाटो विस्तारका क्रममा गड्डाचौकीदेखि ब्रम्हदेवसम्म झण्डै ८० परिवारको दर्तावाला जमिन हुदै जाने उहाँले बताउनुभयो । 

यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नेपाली भूमिमा बाटो बनाउदा भारतीय पक्षले गरेको अवरोध बारे गड्डाचौकीको सशस्त्रले स्थानीयस्तरमा समन्वयको काम गरिरहेको बताउदै माथील्लो तहसँग बुधबार कुरा गर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया